राजनीति

नेपालमा द्वन्द्वको बिउ रोपेर छाक टार्ने मौलाए : ओली

नेपालमा द्वन्द्वको बिउ रोपेर छाक टार्ने मौलाए : ओली


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताएका छन् ।

तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले संकलन गरेको ३ लाख २५ हजार ७सय ८० रुपैंया राहात रकम आज आफ्नै निवास बालकोटमा बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्भाव देखाउने नेपालीहरुको परम्परागत संस्कार भएको बताए ।

‘नेपालीको यो आत्मीयताको संस्कारलाई विथोल्न थुप्रै व्यक्ति र संस्थाहरु लागि परे । ‘भुगोल,जाती,धर्म आदिका नाममा नेपालीमा फाटो ल्याउन भएका सबै प्रयासले नेपाली जनताले निष्क्रिय पारेका छन् ।’

पछिल्ला दुई दशक नेपालमा द्वन्द्व उद्योग गर्नेहरु धेरै फस्टाएको ओलीले बताए । नेपालको जातीय विविधिता,भाषिक र साँस्कृतिक विविधतामा द्वन्द्वको बीउ रोपेर यसबाट छाक टार्नेहरुको बिगबिगी भएको बताए । ओलीले भने ‘नेपाली समाजले द्वन्द्वलाई तिरस्कार गरेपछि त्यसको व्यवस्थापनका नाममा उद्योग गर्नेहरु पनि अहिले फस्टाएका छन् । यस्ता व्यक्ति वा संस्थाहरुबाट सजग हुनुपर्दछ । ’

केही तत्वहरु अझै पनि २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रीय भइरहेको ओलीको धारणा छ । ‘यी सबै तत्वहरुलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन् । ’

राहात रकम नेकपा(एमाले) केन्द्रीय कार्यलयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गरेर तराईका बाढी पीडितलाई अविलम्ब पु¥याइने व्यवस्था गरिने ओलीले बताए ।

 

विशेष