अन्तर्घात गर्नेलाई कांग्रेसको स्पष्टीकरण, पुष्टि भए पार्टीबाट राजीनामा दिन्छु : केसी
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै विभिन्न नेता, कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले सो निर्णय गरेको हो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भनी पार्टी केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमा आरोपित व्यक्तिसँग स्पष्टीकरण माग गर्ने निर्णय गरिएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्पष्टीकरण सोधिएकामा सांसद मीठु मल्ल, जगदीश्वरनरसिंह केसी, ललितजंग शाहीलगायत छन् । कांग्रेसको नुवाकोटका सभापतिसमेत रहेका सांसद केसीले एकरदुईजनाले षडयन्त्रपूर्वक उजुरी दिएका भरमा अनुशासन समितिले त्यस्तो निर्णय गरेको दाबी गर्दै आफूले कुनै अन्तर्घात गरेको पुष्टि भए पार्टीबाट राजीनामा दिने जनाए ।
बैठकले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नम्बर–१, ३, ४, ५, ६ र ७ ९२ नम्बर प्रदेशबाहेकमा पार्टीका कुनै सदस्यले पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय कार्यालयमा उजुरी दिन आगामी असोज १० गतेसम्मको समय तोक्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७० लाई आवश्यक संशोधनसहित पारित भएको छ ।
समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गरिएको छ ।