राजनीति

त्रिविका उपकुलपति खनियाँ कांग्रेसका अन्तर्घाती

त्रिविका उपकुलपति खनियाँ कांग्रेसका अन्तर्घाती

काठमाडौं । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन् ।

कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि छानबिन गर्दै अन्तर्घात आरोपीलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको हो ।

प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का स्थानीय निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका दुई सय ५० जनामाथि समितिले छानबिन प्रक्रिया अघि बढाएको छ। अरू धेरैजसो नेता तथा कार्यकर्ता पेसेवर राजनीतिकर्मी भए पनि खनियाँ देशको सबैभन्दा ठूलो विश्वविद्यालयका नेतृत्वदायी प्राज्ञ हुन् । तर, उनीसमेत राजनीतिक कार्यकर्ता बनेका छन् र अझ पार्टीको अनुशासन नमानेको भनेर कठघरामा परेका छन् ।

स्पष्टीकरण प्राप्त भएपछि अनुशासन समितिले थप अनुसन्धान गरेर दोषी रहेको भए कारबाहीको प्रक्रिया अघि बढाउनेछ । ‘पार्टीका उम्मेदवारहरूलाई हराउन सक्रिय रहेको भनी परेका उजुरीहरूमाथि छानबिन अघि बढाएका हौं, आधिकारिक उम्मेदवारलाई हराउन सप्रमाण भेटिएपछि अनुशासन कारबाही हुन्छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले भने, ‘प्रमाण पुगेमा निलम्बन र निष्कासनसम्मका कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’

पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन केन्द्रीय कार्यालयमा दुई सय ५० जनामाथि उजुरी परेको थियो,’ समितिका एक सदस्यले भने, ‘जिल्ला सभापति, सांसद, विश्वविद्यालयका उपकुलपतिमाथि परेका अन्तर्घात आरोपका उजुरीपछि छानबिनको प्रक्रिया अघि बढाएका हौं ।

नयाँ पत्रिका

विशेष