राजनीति

समानुपातिकमा ८८ दल

समानुपातिकमा ८८ दल

काठमाडौ ।  १० र २१ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा सहभागी हुन ८८ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले उपलब्ध गराएको मंगलबारसम्मको समयमा ८८ दलले समानुपातिकतर्फको निर्वाचनमा सहभागी हुन निवेदन पेस गरेका हुन् । आयोगले गत आइतबार दल दर्ताका लागि २७ भदौसम्मको समय दिँदै दलहरूलाई समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन दिन आह्वान गरेको थियो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेश र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन ८८ वटा विभिन्न राजनीतिक दलले आयोगमा निवेदन दर्ता गरेको बताए ।

‘विभिन्न ८८ दलले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सहभागी हुन निवेदन दर्ता गराएका छन्,’ प्रवक्ता ढकालले राजधानीसँग भने । उनका अनुसार दर्ता भएका दलहरूउपर छानबिन गरी बुधबारसम्म आयोगले निर्णय गर्नेछ । छानबिनका क्रममा प्रक्रिया नपुगेका दललाई भने निर्वाचनमा सहभागी गराइनेछैन । आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीअन्तर्गत दल दर्ता गर्न केही समयअघि दिएको समयभित्र भने ९५ दललाई निर्वाचनमा सहभागिताका लागि आधिकारिकता दिएको थियो ।

तर त्यसमध्ये विभिन्न चार दलले अन्य दलसँग संयुक्त चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने भएपछि आयोगमा ९१ विभिन्न दलले निर्वाचनका लागि आधिकारिकता पाएका छन् । तीमध्ये पनि तीन दलले समानुपातिक प्रणालीतर्फको निर्वाचन प्रक्रियामा भाग लिन निवेदन दिएनन् । यसरी समानुपातिक निर्वाचन प्रणालीमा भाग नलिने दलमा मधेस तराई फोरम, मधेस समता पार्टी र नेपाली ग्रिन रहेका छन् । तोकिएको समयमा दर्ता नभएसँगै उनीहरूले अब समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउनेछैनन् ।

आयोगले जारी गरेको कार्यतालिका अनुसार दल दर्ताका लागि दिएको निवेदनउपर आयोगले छानबिन गरिसकेपछि समानुपातिक तर्फको निर्वाचनका लागि राजनीतिक दलहरूले २९ असोजमा उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार नै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ ।

 राजधानी 

विशेष