राजनीति

यिनलाई भोट दिनेहरुले पुर्पुरोमा हात राख्नु बाहेक बिकल्प रहेन, कारण यस्तो छ

यिनलाई भोट दिनेहरुले पुर्पुरोमा हात राख्नु बाहेक बिकल्प रहेन, कारण यस्तो छ


काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व बढेको छ । राजस्व बढे पनि खर्च भने भएको छैन । गत आर्थिक वर्षमा महानगरले १ अर्ब १३ करोड रुपैया खर्च गर्न सकेन ।

महानगरले विभिन्न २१ वटा बजेट शिर्षकमा राजस्व उठाउँदै आएको छ । महानगरले मालपोत, सम्पत्ति बहाल, सवारी, मनोरन्जन, व्यवसायिक भिडियो प्रदर्शनी, विज्ञापन, व्यवसाय लगायतका क्षेत्रमा कर संकलन गर्ने गर्छ ।

त्यसैगरी एफएम स्टुडियो, लगानी, साधारण दस्तुर, बिक्री, दण्ड जरिवाना, सरकारी अनुदान, महानगरको सम्पत्तिबाट हुने आम्दानी तथा विविध विषयमा लाग्ने शुल्क महानगरका मुख्य आम्दानीका श्रोत हुन् ।

गत आर्थिक वर्षमा महानगरमा १० अर्ब ७८ करोड ५९ लाख ७ हजार ४ सय ३५ रुपैया आम्दानी भएको थियो । यो अनुमानित आयभन्दा ३ अर्ब ८६ करोड ३ लाख २५ हजार ४ सय ३५ रुपैया बढी हो ।

आन्तरिक राजस्वमात्रै २ अर्ब ८३ करोड २२ लाख १९ हजार रुपैया उठेको छ । बाह्य स्रोतबाट ६ अर्ब ९८ करोड ७० लाख ४ हजार उठेको महानगरको राजस्व विभागले जानकारी दिएको छ । आन्तरिक पनि अनुमानित आयभन्दा बढेको छ । अनुमानित आन्तरिक आय २ अर्ब २५ करोड, ६६ लाख, ८७ हजार रुपैया थियो । ‘अनुमानित भन्दा बढी राजस्व उठाउन सफल भयौं,’ महानगर राजस्व महाशाखा प्रमुख धु्रब काफ्ले भन्छन् ।

उनका अनुसार मालपोत करबाट आम्दानी बढेको छ । गत वर्ष ५९ करोड ८९ लाख २ हजार रुपैया उठेकोमा यो वर्ष ६३ करोड, ५६ लाख २२ हजार २ सय ६७ रुपैया संकलन भएको छ । सम्पत्ति बहाल करबाट १५ करोड २५ लाख ८९ हजार २८ रुपैया उठाएको छ ।

महानगरले हाल बहाल कर १२ प्रतिशत बनाएको छ । गत वर्ष २ प्रतिशत महानगर र बाँकी १० प्रतिशत आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएका थिए । स्थानीय निकायको एकल अधिकार अन्तरगत बहाल कर पनि उठाउन पाउने व्यवस्था भएपछि आन्तरिक राजस्व कार्यालयले उठाउदै आएको १० प्रतिशत पनि महानगरले नै उठाउन थालको हो । राजस्व कार्यालयले पनि उठाउन नछाडेपछि करदाता भने दोहोरो करको मारमा परेका छन् ।

घरजग्गा करबाट जेठसम्ममा ६२ करोड ४९ लाख ७० हजार रुपैया आम्दानी भएको छ । जुन गत वर्षको असार मसान्तसम्मको भन्दा ४ करोड २४ लाख बढी हो । सिनेमा हलले कर नतिरेकाले यो वर्ष मनोरन्जन करबाट आम्दानी नभएको राजस्व विभागले जनाएको छ । यसवर्ष मनोरंजन करबाट १ करोड ७० लाख रुपैया उठ्ने अनुमान गरिएको थियो ।

विज्ञापन करबाट पनि आम्दानी बढेको छ । ७ करोड २४ लाख ९६ हजार ३ सय ३२ रुपैया उठेको छ । गत आर्थिक वर्ष ४ करोड १७ लाख २२ हजार ९ सय ४० रुपैया उठेको थियो । नक्सापास दस्तुबाट ३२ करोड ११ लाख ३८ हजार ९ सय ९२ रुपैया आम्दानी भएको छ । यो गत वर्षको भन्दा ५ करोड ६७ लाख ४३ हजार २९ रुपैया बढी हो । त्यसैगरी वसपार्क प्रवेश शुल्कबाट ५० लाख ४५ हजार रुपैया संकलन भएको छ । यो पनि गत वर्षको भन्दा बढी हो । गत वर्ष २७ लाख ९० हजार ८ सय ५० रुपैया संकलन भएको थियो ।

सम्पत्ति मुल्यांकन शुल्कबाट पनि राजस्व वृद्धि भएको छ । यसबाट ५ लाख ३२ हजार ३ सय १८ रुपैया आम्दानी भएको छ ।

सशुल्क पार्किङ शुल्कबाट १ लाख ७१ हजार ८ सय ४६ रुपैया आम्दानी गरेको छ । गत वर्ष यो शुल्क लगाइएको थिएन । यो वर्षदेखि पार्किङ शुल्क उठाउने निर्णय गरेको छ । महानगरलाई तीन क्षेत्रमा विभाजन गरेर पार्किङ शुल्क उठाउन थालको छ महानगरले । वाइसधारा उद्यान प्रवेश शुल्कबाट हुने आम्दानी पनि घटेको छ । गत वर्ष ६५ लाख २५ हजार रुपैया उठेकोमा यो वर्ष ५५ लाख ५९ हजार १ सय ६० रुपैया उठेको छ । यो वर्ष ५ लाख ६० हजार रुपैया उठ्ने अनुमान गरिएको थियो ।

रत्नपार्क प्रवेश शुल्कबाट पनि आम्दानी बढेको छ । ९४ लाख २३ हजार ८ सय ५८ रुपैया संकलन भएको छ । गत वर्षको भन्दा ९ लाख १२ हजार ४ सय ६३ रुपैंया बढी हो । गत आर्थिक वर्ष ८५ लाख ११ हजार ३ सय ९५ रुपैया संकलन भएको थियो । वसपार्क पसल, सव वे, औजार उपकरण, अन्य बहाल, सभागृह हल भाडाालाई महानगरले आफनै सम्पत्ति शिर्षकमा राखेको छ । यी शिर्षकबाट पनि आम्दानी बढेको छ । सव वे बाट २ लाख १७ हजार, औजार उपकरणबाट १७ हजार, अन्य बहालबाट १५ लाख ८३ हजार र सभागृह हल भाडाबाट ३१ लाख ५९ हजार ९ सय ९४ रुपैया संकलन भएको छ । सभागृह हलभाडाबाट गत वर्षको भन्दा २४ लाख ६६ हजार रुपैंया वढी उठेको छ । यो अनुमानित आयभन्दा भने कम हो । सभाहलबाट १ करोड ५० लाख रुपैया उठ्ने अनुमान गरिएको छ ।

एमएम स्टुडियोबाट पनि आय घटेको छ । गत वर्ष ६२ हजार ३ सय ३६ रुपैया आम्दानी भएकोमा यो वर्ष १३ हजार ५ सय रुपैया मात्रै आम्दानी भयो । रेडियोको विज्ञापनबाट भने ५ हजार रुपैया आम्दानी भएको छ । गत वर्ष आम्दानी भएको थिएन । यो वर्ष यो शिर्षकमा आम्दानी हुने अनुमानै गरिएको थिएन । त्यसैगरी लगानीबाट पनि आम्दानी गरेको छ । बैंकको व्याज र लगानी फिर्ता गरी दुई क्षेत्र राखिएको छ यो शिर्षकमा । बैंकको व्याजबाट १ करोड ५३ लाख १६ हजार १ सय २० रुपैया आम्दानी भएको छ । यो आम्दानी पनि गत वर्षको भन्दा कम हो । यही शिर्षकमा गत वर्ष १९ करोड ९२ लाख ७ हजार रुपैया आम्दानी भएको थियो ।

त्यसैगरी साधारण दस्तुर आय, मालसामान लिलाम, कम्पोष्ट बीन तथा मल विक्रीदण्ड जरिवाना धरौटी जफत नक्सा नियमित र जरिवान शिर्षकमा पनि आम्दानी बढेको महानगरले जनाएको छ । सरकारको अनुदानबाट भने ६९ करोड ८६ लाख लाख ५१ हजार रुपैया प्राप्त भएको छ । यो अनुमानित आय भन्दा कम हो । महानगरले ३ अरब ७१ करोड ५ लाख रुपैया सरकारी अनुदान अनुमान गरेको थियो ।

आम्दानी बढेपनि खर्च गर्न किन सकेन ? महानगरका उच्च अधिकारी भन्छन्, ‘खर्च गर्ने ठाउँ नभएको होइन तर खर्च गर्ने ठाउँ खोजेनन् । त्यो रिस्क व्यहोर्न चाहेनन् । प्रत्येक वडालाई नयाँ योजना ल्याउ भनेको भए पनि खर्च गर्न सकिन्थ्यो । तर त्यसो गर्न पनि चाहेनन् । पूर्वाधार विकासमा खर्च गर्न सकिन्थ्यो । योजना सिस्टममा कमजोरी भयो ।’

राजस्व उठाएर आम्दानी गरे पनि करदाताले भने समस्या भोग्नु परेको स्थानीयबासीको गुनासो छ । ‘मेयर विद्यासुन्दर शाक्य दीर्घकालीन योजनाको मात्रै कुरा गर्नु हुन्छ,’ वसन्तपुरका अनिल तुलाधर भन्छन, ‘सडकमा खाल्डो छ, मेयर पुर्दा पैसा खर्च हुन्छ भन्नु हुन्छ । सडकमा धुलो छ । धुलो हटाउने काम महानगरको होइन भन्नु हुन्छ । जनताई यही कुराले बढी असर गरेको छ । जुन कुराले बढी असर गरेको छ, त्यही कुरा हाम्रो प्राथमिकता होइन भन्छ महानगर । अनि धेरै पैसा उठेर पनि के फाइदा महानगरबासीलाई ?
कान्तिपुर दैनिकबाट

विशेष