भिडियो कला साहित्य

साझामा मैले एउटा गल्ती चाहिँ गरेकै हुँ : डोलिन्द्रप्रसाद शर्मा (भिडियोसहित)

साझामा मैले एउटा गल्ती चाहिँ गरेकै हुँ : डोलिन्द्रप्रसाद शर्मा (भिडियोसहित)

 

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अहिले विवादको केन्द्रमा छन् । साझा प्रकाशनलाई भ्रष्टाचारको थलो बनाएको, नियोजितरुपमै डुबाउन खोजेको, व्यक्तिगत स्वार्थअनुसार चलेको आरोप उनीमाथि लामो समयदेखि लाग्दै आएको छ । पछिल्ला दिनमा विभागीय मन्त्रालय शिक्षा मन्त्रालयले पनि यो विषयमा चासो दिन थालेको छ । साझा प्रकाशनलाई लिएर उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ पनि विवादमा तानिएका छन् । 

वास्तवमा साझा प्रकाशनको अहिलेको विवाद के हो ? विवादमा कतिको दम्भ छ ? यसै विषयलाई लिएर हामीले अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासँग कुराकानी गरेका छौं । सम्पादित अंश यस्ता छन्:

शिक्षा मन्त्रालयले सुरुमा तपाईंका राजिनामा स्वीकार नगरेको भनिएको थियो, पछि बोली फेर्दै कानुनी प्रक्रिया अघि बढाइएको छ भनियो । कारण के हो ?

यो जिज्ञासा मलाई भन्दा पनि माननीय शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सोध्दा बढी उचित होला । 

सुरुवाती दिनमा तपाईं साझा प्रकाशन सिध्याउनेलाई मृत्युदण्ड दिइनुपर्छ भन्नुहुन्थ्यो । अहिले त्यो तीर तपाईंमाथि नै सोझिएको छ । अब तपाईंले गरेको अनियमिततालाई लिएर तपाईंलाई चाहिँ मृत्युदण्ड दिनुपर्ने अवस्था आएको हो ? 

यसबारे मैले भनिसकेको छु । चार वर्षअघिदेखि नभएको अडिट सबै हुनुपर्छ । सबै अडिट भएर डोलिन्द्रले पैसा हिनामिना गरेको एउटा पनि प्रमाण फेला प¥यो भने म फाँसीमा झुन्डिन तयार छु । अहिले आएका समाचारमा कुनै पनि सत्यता छैनन् । सबै प्रायोजित हुन्, नियोजित रुपमा चलाइएका हल्ला हुन् । सबै आरोप मात्र हुन् । यस्ता हल्ला र आरोपसँग मलाई केही मतलव छैन । अख्तियारले सबै अडिट लिएर गएको छ । म यसैमा खुशी छु । 

त्यसो भए तपाईंको गल्ती चाहिँ के हो ? किन तपाईंमाथि रकम हिनामिना र भ्रष्टाचारको आरोप लाग्यो ? 

मैले एउटै गल्ती गरें । त्यो हो साझामा लामो समयदेखि अडिट भएको थिएन । मैले गरेँ । अहिलेको विवाद र ममाथि सबै खनिनुको प्रमुख कारण अडिट नै हो । मैले अडिट गर्ने निर्णय गरेकै भएर यस्तो भएको होे । 

तपाईंमाथि ५० लाख रुपैयाँ व्यक्तिगत स्वार्थका लागि भुक्तानी लिएको आरोप छ । वास्तविकता के हो ? 

मैले व्यक्तिगत रुपमा पैसा किन आफ्नै नाममा भुक्तानी गर्थें ? भ्रष्टाचार गर्ने नै भए म अरुको नाममा गर्थें होला । आफ्नै नाममा मैले किन भ्रष्टाचार गर्नु प¥यो ? यो पैसाको विषयमा सञ्चालक समितिको बैठकले नै निर्णय गरेको हो । उहाँहरु बैठकमा नभएको र हस्ताक्षर नगरेको समाचार पनि आएछ । सञ्चालक समितिका त्यस्ता बौद्धिक मानिसहरुको हस्ताक्षर मैले किर्ते गर्न सक्छु र ?  

अब के गर्नु हुन्छ ?

अबको पहल भनेको म अध्यक्ष नभएपनि सक्षम मानिसको नेतृत्वमा साझा जानु पर्छ । साझा प्रकाशनलाई बचाइनुपर्छ । मलाई अब महाप्रबन्धकको कुर्सीमा बस्नु पनि छैन । साझामा आबद्ध नभएपनि म आफ्नो क्षमता अन्य ठाउँमा लगाउन सक्छु त्यसकारण ममा केही लोभ छैन । तर, मेरो स्वाभिमानमा जसरी अपमान भएको छ म यसका लागि न्यायसँग लड्छु । 

(विस्तृत भिडियो कुराकानीमा)

Sajha Prakashan

विशेष