राजनीति

राजपालाई झड्का

राजपालाई झड्का

काठमाडाैं । प्रदेश नं–२ को स्थानीय चुनावको मुखमै राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई २५ भदौमा आफ्नै प्रभाव क्षेत्र सर्लाहीमा ठूलै झड्का लाग्यो । राजपाका तीन केन्द्रीय सदस्यसहित सयौँ स्थानीय नेता–कार्यकर्ताले पार्टी परित्याग गरे । सर्लाहीको गढैयामा आयोजित नेकपा माओवादी केन्द्रको चुनावी सभामा केन्द्रीय सदस्यत्रय शिवपूजन राय यादव, रामबाबु दास र रामएकवाल रायसहित राजपाका सर्लाही उपाध्यक्ष महेन्द्रप्रसाद यादव, क्षेत्रीय सभापतिहरू अनिलकुमार सिंह, अनितादेवी यादव र विश्वमोहन सिंहलगायत राजपा छाडेर माओवादी प्रवेश गरे ।

राजपा परित्याग गर्नेमध्येका शिवपूजन सर्लाहीमा पकड भएका नेता मानिन्छन् । ०६४ को संविधानसभा चुनावमा उनले मधेसी जनअधिकार फोरमबाट क्षेत्र–६ बाट जितेका थिए । त्यतिबेला उनीसँग तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (हाल : राजपा अध्यक्ष) महन्थ ठाकुर र कांग्रेसका अमरेश सिंहले पराजय भोग्नुपरेको थियो । तर, तिनै शिवपूजनलाई अध्यक्ष ठाकुरले आफ्नो गृह जिल्लामा जोगाउन सकेनन् । राजपाका महासचिव केशव झा भन्छन्, “सर्लाहीमा हामीलाई क्षति भएकै हो । तर, त्यसले चुनावमा खासै असर पर्दैन ।” चुनावका बेला दलबदल अस्वाभाविक होइन । तर, प्रदेश–२ लाई नै जीवनमरणको लडाइँ बनाएको र त्यहीँ मात्र सीमित भएको राजपाले त्यहीँ नै धेरै नेता–कार्यकर्ता गुमाउनुचाहिँ उसका लागि पक्कै सुखद होइन ।

जस्तो : सर्लाहीको कविलासी नगरपालिका निवासी राजपा महासचिव जंगीलाल यादवले २० भदौमै महासचिव पद त्याग गरे । राजपाले टिकट वितरणमा आफन्तलाई काखा र योग्यलाई पाखा लगाएकामा जंगीलाल जंगिएका थिए । उनी ०७० को संविधानसभा चुनावमा सर्लाही–५ बाट निर्वाचित भएका थिए । नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा भन्छन्, “टिकट वितरणमा योग्यलाई बेवास्ता, जात र पैसालाई प्राथमिकता दिएकाले राजपाका राम्रा नेताहरूले पार्टी त्यागेका हुन् । यसबाट अहिलेको चुनावमा राजपालाई क्षति हुन्छ नै, संसद्को चुनावमा पनि नोक्सान पुग्छ ।”

रोचक के छ भने आफ्ना नेता–कार्यकर्ता धमाधम पार्टी छाडेर अन्यत्र जाँदा पनि राजपा अध्यक्ष महन्थ ठाकुर २९ भदौसम्म सर्लाही झरेका छैनन् । उनको अनुपस्थितिमा सर्लाहीको चुनावी कमान्ड राजपाका अध्यक्षमण्डलका अध्यक्ष महेन्द्र राय यादवले सम्हालेका छन् । जंगीलाल र शिवपूजनलगायतले पार्टी छाडेपछि सर्लाहीमा राजपाको चुनावी अभियान रक्षात्मक बनेको छ । ६ वटा प्रदेशमा ३१ वैशाख र १४ असार गरी दुई चरणमा स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ । तर, राजपाले आफ्ना माग सम्बोधन गराउन संविधान संशोधन नभई कुनै पनि चुनावमा भाग नलिने र चुनाव हुन नदिने अडान लिएको हुँदा प्रदेश–२ को मात्र चुनाव दसैँको मुखमा पुगेको हो ।

ज्ञातव्य रहोस्, राजपाले यसअघिका कुनै पनि चुनावमा भाग लिएको थिएन । प्रदेश–२ का १ सय ३६ मध्ये १ सय ३० स्थानीय निकायमा राजपाको एकल उम्मेदवारी परेको छ । विगतका चरणमा सहभागी नभएकाले यो चुनावमा राम्रो जित हासिल गर्नैपर्ने दबाबमा छ, राजपा । तर, चुनावी स्थिति भने उसका लागि प्रतिकूल बन्दै गएको छ । किनभने, राजपा अध्यक्ष महन्थकै गृह जिल्ला सर्लाहीमा मात्र होइन, प्रदेशका आठवटै जिल्लामा राजपा परित्याग गर्ने केन्द्रीय नेताहरूकै संख्या झन्डै एक दर्जन पुगिसकेको छ ।

जस्तो : पर्सामै, वीरगन्ज महानगरपालिकाको मेयरको टिकटका आकांक्षी पार्टी महासचिव विमल श्रीवास्तव चुनावकै मुखमा प्रतिस्पर्धी दलमा प्रवेश गरेका छन् । पार्टीले मेयरमा राजेशमान सिंहलाई अघि सारेपछि विमल राजपा परित्याग गरी विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदवार भएका छन् । उनी वीरगन्ज नगरपञ्चायतका पूर्वप्रधानपञ्च र ०४८ पछि नगरपालिकाका मेयर रहिसकेका व्यक्ति हुन् ।

नेपाल साप्ताहिकबाट

विशेष