राजनीति

प्रदेश नम्बर २ को स्थानीय तहको मतदान सुरु, पूर्व प्रधानमन्त्री माधव नेपालले गरे मतदान

प्रदेश नम्बर २ को स्थानीय तहको मतदान सुरु, पूर्व प्रधानमन्त्री माधव नेपालले गरे मतदान

काठमाडौं । स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत प्रदेश नं. २ मा मतदान सुरु भएको छ । तेस्रो चरणको चुनाव सम्पन्न भएसँगै संविधानअनुसार देशभर स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले गर्नेछन् ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल मतदान गर्न गौरको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी बिहानै मतदान गर्न आफ्नो केन्द्र पुगेका थिए । नेता नेपालले राम जानकी कन्या प्राथमिक बिद्यालय गौरबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन् ।

तराईका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा चुनाव सुरु भएको हो । सोमबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । साँझ ५ बजेसम्म मतदान केन्द्रमा पुगिसकेका मतदाताले भोट दिन पाउनेछन् ।  

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उत्साहपूर्वक मतदानमा भाग लिन मतदातालाई आग्रह गरेका छन् । यादवले स्थानीय चुनावलाई पर्वका रुपमा मनाउन मतदातासँग अनुरोध गरेका छन । ‘कसैको धाकधम्कीमा नपरी मतदान गर्न अनुरोध छ,’ यादवले भने, ‘तराईमा बाढी, डुबान, कटानले स्थानीयलाई कष्ट पुगेछ ।’ चुनावपछि जनताको सेवालाई सर्वोपरी राखेर जनप्रतिनिधिले काम गर्ने प्रमुख आयुक्त यादवले विश्वास व्यक्त गरे ।
यादवले आफूले रोजेको योग्य उम्मेदवारलाई मत दिन मतदातासँग आग्रह गरे । मतदानमा जाँदा फोटोसहितको परिचयपत्र लिएर मतदान केन्द्रमा जान आयोगको आग्रह छ ।

चुनावबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । प्रदेश २ मा वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनकपुर तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् ।

चुनावका लागि वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी महिलालाई प्राथमिकता दिइ लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको छ । दृष्टिविहीनलाई एकाघरका सदस्यले मत दिन सघाउन सक्ने व्यवस्था आयोगले गरेको छ ।
आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ । प्रदेश २ का २६ लाख ६४ हजारभन्दा बढी मतदाताले मत दिँदैछन् ।

चुनावमा ३७ हजार २ सय ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७, पुरुष २२ हजार ८ सय ६१ जना छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

नगरप्रमुख-गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जना प्रतिस्पर्धामा छन् । नगर उपप्रमुख÷गाउँपालिका उपाध्यक्षमा १ सय ९७ पुरुष र ९ सय १९ जना महिला उम्मेदवार चुनावी मैदानमा छन् । वडाध्यक्षमा ८ हजार ५२ जना पुरुष र २ सय २३ जना महिला उम्मेदवार छन् ।

निर्वाचन गराउन २ हजार १ सय ६६ मतदान स्थलमा ३ हजार ५ सय ७८ मतदान केन्द्र छन् । सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी चुनावमा परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि वैशाख ३१ मा तीन प्रदेशमा पहिलो चरण, असार १४ मा तीन प्रदेशमा दोस्रो चरणमा स्थानीय चुनाव भइसकेको छ ।

 

विशेष