राजनीति

‘७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

‘७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

काठमाडौं। निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको जनाएको छ ।


आयोगको कार्यालय कान्तिपथमा सोमबार साँझ पत्रकार सम्मेलन गरी आयोगले प्रारम्भिक विवरणअनुसार ७३ प्रतिशत मत खसेको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले मतदान शान्तिपूर्ण, उत्साहजनक र व्यापक सहभागितापूर्ण भएको बताए ।

आयोगले छिट्फुट घटनाबाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको पनि जनाएको छ । १३६ स्थानीय तहमध्ये प्रायः सबै स्थानमा ७० प्रतिशतभन्दा माथि मत खसेको छ । सबैभन्दा बढी मतदान रौतहटमा ७५ प्रतिशत मत खसेको छ भने बारामा पनि ७५ प्रतिशत हाराहारीमै मतदान भएको छ ।

यस्तै, सप्तरीमा ६५ प्रतिशत, सर्लाहीमा ७० प्रतिशत, पर्सामा ७२ प्रतिशत, महोत्तरीमा ६५ प्रतिशत, सिराहामा ७० प्रतिशत र धनुषामा ७० प्रतिशत मत खसेको पनि निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, निर्वाचनकाक्रममा विभिन्न ठाउँमा गरी ३८ जना नक्कली मतदाता पक्राउ परेको र नियमविपरीत गतिविधि गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि आयोगले जनाएको छ ।

आयोगले पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम आउने गरी व्यवस्थापकीय र प्राविधिक तयारी गरेको पनि दाबी गरेको छ । मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सोमबारै राति वा मंगलबार बिहानदेखि मतगणना सुरु गर्ने जनाइएको छ ।

यो निर्वाचनबाट प्रदेश नम्बर–२ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा ६ हजार ६२७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

विशेष