कालो दिन मनाउँदै शिव सेनाले दियो डरलाग्दो चेतावनी
काठमाडौं । सविधान जारी भएको दिन असोज ३ लाइ ‘कालो दिन’ भन्दै शिव सेना नेपालले विरोध प्रदर्शन गरेको छ ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतको नेतृत्वमा तराइका विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको हो । संविधान जलाउने तथा विरोध प्रदर्शका क्रममा जिल्ला जिल्लामा र्याली, कोणसभा आदि भएका छन् । काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध सभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने, ‘२०६३ सालपछि नेपालका पार्टीका नेताहरुले परचक्रीहरुको पारामा लागेर नेपालको महानता माथि चोट पुर्याउने कुकर्म गरे । अब देशद्रोहीहरुबिरुद्ध खडा भइएन भने नेपालको अस्तित्व बच्ने छैन ।’
अध्यक्ष बस्नेतले नेपालको संविधानले धर्म र राजसंस्था मात्रै मासेको नभई नेपाल र नेपालीको गौरवपूर्ण इतिहासलाई सामन्ति,शोषकी भनेर परिभाषित गरेको बताए । उनले भने, ‘जुन संविधानले देशको इतिहास बुझ्दैन, आफ्नो गौरव र वीरता बुझ्दैन र हत्या हिंसालाई मलजल गर्छ त्यस्तो संविधान देशका लागि हितकर हुँदैन ।’
विश्वको एकमात्र हिन्दूराष्ट्र मास्ने, विश्वभरका हिन्दूहरुले टाउको निहुर्याउन आउने राजसंस्था मास्ने द्रोहीहरुलाई पाठ सिकाउन भए पनि हालको संविधान खारेज हुनु पर्ने अध्यक्ष बस्नेतको भनाइ छ । उनले भने, ‘अहिलेको संविधानले देश जोड्दैन । संघीयताले नेपालीको मन टुक्रा पारिसकेको छ । अब भूगोल टुक्रा पार्ने योजना हो । यसका लागि विदेशीहरुको इशारामा देशभित्रका गद्दारहरुले काम गरिरहेका छन् । संविधान र गद्दारहरुलाई एकसाथ सिध्याउन अब जनता उठ्नु पर्ने बेला भएको छ ।’
शिव सेना नेपालले हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि विगतदेखि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । हिन्दू राष्ट्र र राजसंस्थालाई हतियार बनाएर सत्तामा जाने खेल अन्य राजनीतिक दलहरुले गरेपछि यो संगठन भने विशुद्ध प्रमुख दुई एजेन्डाका साथ अभियानमा क्रियाशील रहेको छ ।