राजाको ५० रुपैयाँ बक्सिस थाप्न बिहानदेखि साँझसम्म कुरेँ (भिडियाेसहित)
काठमाडौं । नेपालमा पप गीत प्रवेश गरिसकेको थिएन । गाउँघरमा विशेषगरी लोक दोहोरी गीतहरु घन्किन्थे । त्यतिबेला नृत्यमा चल्तीको नाम थियो – कुमार बस्नेत । नृत्य गर्दै देश विदेश खुब घुम्थेँ । अंग्रेजी गीतहरु पनि खुब सुन्ने गर्थँे । यसरी विदेशी संस्कृतिको लतमै नेपालमा पप गीत गाउन थालेँ । बाजाहरु पनि नयाँ नयाँ प्रवृत्तिका प्रयोग हुन थाले ।
अनि घन्किन थाल्यो, ‘लैबरी लै लैबरी लै’ । युवावस्थाको समय स्मरण गर्दै उनले भने, ‘त्यतिबेला लोक गीतमा पनि मज्जैले गितार बजाएको थिएँ । हामीसँग ड्रमको अर्केस्ट्रा नै थियो ।’ तर, पछि उनलाई धेरैले लोक गीत गाउन सुझाउन थाले । ठूलाको आज्ञा शिरोपर गर्दै लोक गीतमा सक्रिय रहे । आज लोक गीतको प्रतिक नै भनेर चिनिन्छन् गायक कुमार बस्नेत ।
नेपालमा अहिलेसम्म पनि कलाकारलाई गरिने सम्मानमा सन्तुष्ट छैनन् बस्नेत । किनभने आफ्ना समकालीन साथीहरुको दयनीय अवस्था पनि देखेका छन् उनले । ती दर्दनाक क्षणलाई सम्झदैँ उनले भने, ‘लालबहादुर खातीको लाश जलाउने पैसा नहुँदा उनकी श्रीमतीले पशुपतीमा पैसा मागेर लाश जलाएको पनि देखेको छु । राम थापाजस्ता गायकले पनि यहाँ सम्मान पाएका छैनन् ।’ त्यसैले राष्ट्रले कलाकारलाई सम्मान नगरेको गुनासो अझै पनि उनको मनमा खड्किरहेको छ ।
१९६० मा नै उनले आधुनीक गीत गाएका थिए । लोक गीतमा सक्रिय रहे पनि उनको लगाव भने सधैँ आधुनिक र पप गीतहरुमा रह्यो । तर, नेपालको पहिलो पप गायकको उपाधि अहिलेसम्म पनि विवादमा नै छ । त्यसको श्रेय ओम बिक्रम बिष्टलाई दिने गरिएको छ । यसबारे उनले भने, ‘मैले आधुनिक गीत गाउँदा ओमबिक्रम बिष्ट जन्मिएका पनि थिएनन् ।’ पाण्डव सुनुवार र राम थापाले मेरो गीत सुनेपछि मलाई पप गायक भन्न थाले । ‘मलाई मेरा अग्रजहरुले लोक गीतलाई जोगाउन भनेको भएर म लोक गीतमा फर्किएको हुँ । जसले जेसुकै भने पनि मेरो मनले मलाई वास्ताविकता भनेकै छ ।’
अहिले पनि उनलाई पप गीत गाउने रहर नभएको भने होइन । तर, सधैँ आफ्नो कलाको कदर जनताले नै गरिदिऊन् भन्ने भावना भएका बस्नेत यो उमेरमा पप गीतमा देखिँदा जनता निराश हुने डरले उनलाई सताउँछ । यसबारे थप कुरा बताउँदै उनले भने, ‘लास्टमा चाहीँ एकपटक पप गीत गाएर जाउँ कि जस्तो लाग्छ । मलाई बाध्यतावश लोकगीतमा ढालेका हुन् । त्यसकारण यसमै बढि गीत गाए । त्यसले गर्दा दर्शकले पनि कुमारले लोक गीतमै काम गरिदिए हुन्थ्यो भन्ने गर्थे ।’
’काठमाडौंमा लोक गीत भित्र्याउन निकै सकसपूर्ण भएको भन्दै उनले भने, ‘हामीलाई पाखे, गाइने झ्याउरे भने । काठमाडौंमा लोक भाका भित्र्याउन कम्ति सकसपूर्ण थिएन । अहिले पनि मानिसहरुले भन्छन्, ‘कुमार बस्नेत नभइदिएको भए गाउँका लोकगीतहरु शहर पस्दैन थिए ।’
उमेरले बुढो भएपनि आफ्नो मन अझै बुढो नभएको उनले जिकिर गरे । ‘राम्री केटी देख्दा मुख रसाएन भने चाँडै मर्छ भन्छन् । त्यो दिन अहिलेसम्म आएको छैन । त्यसकारण म किन चाँडै मर्नु ? ‘लेट मि इन्जोय माइसेल्फ’ उनले भने ।
नृत्यबाटै आफ्नो कलाकारिताको यात्रा सुरु गरेको बस्नेतले नेपालमा जवाहरलाल नेहरु, एलिजाबेथ आउँदा पनि आफ्नो नृत्य देखाए । संसारको जुनै देश गएपपनि डान्सबार जान्थे । ंभन्छन्, ‘नाइट क्लब जान अहिले पनि रहर लाग्छ । जान्छु कहिलेकाहीँ ।’ बीचमा उमेरले नदिएपछि भने उनले नाच्न छोडेका थिए ।
त्यतिबेला गायकहरुले राजालाई गीत गाएर खुसी बनाएबापत बक्सिस पाउँथे । उनले पनि पाए । तर, जनताले त्यसलाई सकारात्मक रुपमा बुझेनन् । कलाकारले जति नै पैसा कमाए पनि राजाले दिएको भनेर अपमान गर्ने बानीले सधैँ चित्त दुखेको बताउँछन् उनी । तर, राजाको बक्सिस लिन पनि कम्ति झन्झट थिएन । स्मरण गर्दै उनले भने, ‘म सञ्चय कोषको हाकिम थिएँ । मैले हस्ताक्षर नगरी अरुले पैसा पाउँदैनथे । त्यतिबेला राजाले हनुमान ढोका बोलाएँ । राजाले बोलाए, म गएँ । ११ बजे बोलाएको ५ बजे बल्ल कुमार बस्नेत भनेर मेरो नाम आयो । पचास रुपैयाँ लिन बोलाएका थिए । पचास रुपैयाँ लिन ११ बजेदेखि ५ बजेसम्म कुर्नुपर्यो । उता जागिरमा हाकिमलाई समेत पनि बाहिर छु भनेर खबर गर्न पाइनँ । त्यो कुराले साह्रै पछुतो लागेको थियो ।’
पुराना दिनहरु सम्झिदै उनले भने, ‘कृष्णप्रसाद भट्टराई मैले आएर गीत नगाएसम्म खाना खाँदैनथे । मनमोहन र गिरिजाप्रसाद कोइरालाले खुब माया गर्थे । त्यो बेलामा गीत गाएर पैसा नभए पनि इज्जत हुन्थ्यो ।’
कुमार बस्नेतका गीतलाई अझ पनि छाडा रु उच्छृंखलको संज्ञा दिइन्छ । तर, उनी भने यस्ता कुरामा सहमति जनाउँदैनन् । भन्छन्, ‘जनताले त्यस्तै गीत मन पराउँछन् । हामीले पनि त्यस्तै मन गायौँ । कति गीत देशलाई समर्पित गरेर गायौं । ती गीतहरु कतै बजेनन् । ‘छोरी भन्दा आमा तरुनी’ गाएको ह्वात्तै हिट भयो ।
फुलबुट्टे सारी
माकुराको जाली
बैगुनी रैछ पेटिकोट, जलहरी रुमाल चट्टै । यी गीतहरु वास्ताविक लोक गीत हुन् ।’
पछिल्लो समय उनलाई नेपाल आइडलमा पनि बोलाइएको थियो । तर, समयको अभावले जान पाएनन् । आफूले कसैलाई पक्षपात नगर्ने गरेको बताउँदै उनले भने, ‘जसले पहिला बोलाएको छ त्यसकोमा जान्छु । अहिले त मेरो काम नै उद्घाटन गरिदिने, दोसल्ला ओढाइदिने भएको छ । यस्तैमा दिन बित्छ ।’
Kumar Basnet Nepali Literature