कोमल ओली एमालेमा प्रवेश
लोक गायिका कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरेकी छिन् । केही महिनाअघि राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित ओली राप्रपा विभाजन हुँदा कमल थापालेको नेतृत्वमा रहेकी थिइन् ।
लामो समय रेडियो नेपालमा काम गरेकी ओलीले सक्रिय राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरेपछि जागिर छाडेकी थिइन् । गायिका ओलीले स्थानीय तहको निर्वाचनमा राप्रपाका लागि विभिन्न स्थानमा भोट माग्नसमेत सक्रिय भएकी थिइन् ।
राप्रपाको विभाजन र स्थानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक जनमत नपाएपछि ओली एमालेमा प्रवेश गरेकी हुन् ।
आफ्नै गृह जिल्लामा पुगेर एमाले प्रवेश गरेकी ओलीसंगै काँग्रेसका स्थानीय नेता बलिभद्र राना, डिल्ली बहादुर खड्का, नयाँ शक्तीकी केन्द्रीय सदस्य निर्मला विक, राष्ट्रिय जनशक्ती पार्टीकी केन्द्रीय सदस्य कमला देउजा लगायत ५ सय बढी नेता कार्यकर्ता बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।
नवप्रवेशीलाई स्वागत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेमा रहेर कहिलै पनि पश्चाताप नहुने बताए ।