राजनीति

एमाले निर्वाचन परिचालन कमिटी गठित

एमाले निर्वाचन परिचालन कमिटी गठित

नुवाकोट । (नेकपा एमाले) नुवाकोटले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ५५ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

सदरमुकाम विदुरमा बसेको १२ आँै जिल्ला कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष नारायणप्रसाद खतिवडाको अध्यक्षतामा कमिटी गठन गरेको एमाले नुवाकोटका प्रचार विभाग प्रमुख वासुदेव कडुवालले जानकारी दिए ।

आगामी मंसिर १० गते हुने लागिरहेको निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा बनाउन निर्वाचन परिचालन, जनपरिचालन, पार्टीको कार्यसूची प्रचारप्रसारलगायत प्रचारात्मक कामका लागि परिचालन कमिटी गठन गरी सचिवालयसमेत गठन गर्ने निर्णय भएको छ । बैठकले राज्य पुनःसंरचनानुसार जिल्ला कायम भएका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि संयोजक र इञ्चार्जसमेत चयन गरेको छ ।

निर्वाचनका लागि उम्मेदवारको नामावली संकलन, उम्मेदवारको प्रस्ताव, चुनावी प्रचारप्रसारलगायत अभियान सञ्चालन गर्न संयोजक र इञ्चार्ज चयन गरिएको जनाइएको छ । कडुवालका अनुसार स्थानीय तहको निर्वाचनमा ‘सदस्य संख्याका आधारमा सबैभन्दा ठूलो दल भएको एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गर्न क्षेत्रगत रुपमा तालमेलको समेत प्रयास गरिरहेको छ ।

CPN UMLE

विशेष