‘मेल, तालमेल, बेमेल एकल’ जसरी भए पनि प्रदेश २ मा पहिलो हुने सबैको योजना
काठमाडौं । असोज २ गते हुने प्रदेश २ को स्थानीय निर्वाचनलाई दलहरूले राजनीतिक अस्तित्वको लडाइँका रूपमा लिएका छन् । कांग्रेस, एमाले र माओवादी मात्रै होइन, राजपाले समेत प्रदेश २ का आठ जिल्लामा सम्पूर्ण शक्ति केन्द्रित गरिरहेका छन् । चारवटै दलले धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा र रौतहटका एक सय ३६ स्थानीय तहमा जसरी पनि पहिलो बन्ने रणनीतिमा छन् । ती चारवटै दलले एक्लै लड्नेदेखि तालमेल गरेर चुनावमा होमिनेसम्मका नीति तय गरेका छन् ।
प्रदेश २ लाई कांग्रेसले आफ्नो बाहुल्य र प्रजातान्त्रिक आन्दोलनको सात दशक लामो इतिहाससँग जोडेर लिएको छ । पहिलो र दोस्रो निर्वाचनमा भएको पराजयलाई ध्यानमा राख्दै विशेष गृहकार्यका साथ चुनावी मैदानमा रहेको दाबी उसले गरेको छ । एमालेले कम्युनिस्टको राजनीतिक उर्वरभूमि भएकाले अघिल्ला निर्वाचनमा पाएको मतको सम्मान गर्ने गरी प्रदेश २ मा जित हासिल गर्ने दाबी गरेको छ ।
माओवादी केन्द्र संविधान निर्माणदेखि दोस्रो संशोधनसम्म मधेसका लागि खेलेको भूमिका र बढ्दो संगठन विस्तारका कारण चुनावमा पहिलो पार्टी हुनेमा विश्वस्त छ । राजपा नेपालले सिंहदबारको राज्यव्यवस्थाले मधेस र मधेसीलाई राज्य सञ्चालनक्रमदेखि नै गरेको अस्वीकार र संविधानमा रहेका ३६ वटा मधेसविरोधी धारा र उपधारा संशोधनका लागि भएका आन्दोलन र जनसहभागितालाई जित्ने आधार मानेको छ ।
कांग्रेस नेता पहिलो र दोस्रो निर्वाचनको क्षतिपूर्ति प्रदेश २ बाट बाट गर्ने योजनामा छन् । ‘प्रदेश २ को निर्वाचन परिणामपछि कांग्रेस मुलुककै पहिलो पार्टी बन्छ’, कांग्रेस केन्द्रीय सदस्य एवं कृषिमन्त्री रामकृष्ण यादवले भने, ‘स्थानीय स्तरको सिफारिसमा उम्मेदवार चयन गरेका छौं, घात–अन्तर्घात अन्त्य गरेका छौं . केन्द्रको नीतिअनुसार सत्तापक्ष र राजपासँग स्थानीय नेतृत्वको सुझाव र सल्लाहमा चुनावी तालमेल पनि गर्छैां .’ उम्मेदवार चयनदेखि च’नावी कार्यक्रम र घोषणापत्रका आधारमा घरदैलोमा कांग्रेस सहभागी भइरहेको यादवले जानकारी दिए ।
अन्नपूर्ण पोस्ट्बाट