मेयरका उम्मेदवार अन्सारी अन्डरवर्ल्ड डन दाउद इब्राहिमका एजेन्ट !
काठमाडौं । वीरगञ्ज महानगरपालिकाका लागि एमालेबाट मेयरका उम्मेदवार बसुरुद्दिन अन्सारी भारतका अन्डरवर्ल्ड डन दाउद इब्राहिमका एजेन्ट भएको आरोप लागेको छ । यस्तो आरोप भारतीय मिडिया हिन्दूस्तान टाइम्सले लगाएको हो ।
सो मिडियाले अन्सारी नेपालमा विवादास्पद छविका मानिस भएको र उनले दाउदकै पैसाले नेपालमा मेडिकल कलेजहरु खोलेको दावी गरेको छ । अन्सारीले अहिले जे जे मा लगानी गरेका छन्, ति लगानीको स्रोत खुल्न नसक्ने समाचारमा जनाइएको छ । नेपालस्थित भारतीय दूतावासले अन्सारीको छानविनका लागि नेपाल सरकारसँग आग्रह गरिसकेको छ ।
एमालेले अन्सारीलाई उम्मेदवार बनाउने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनको मेडिकल कलेज बन्द गर्न निर्देशन दिएका थिए । दाउदको करोडौं रुपैयाँ अन्सारीमार्फत प्रयोग भइरहेको समाचारमा उल्लेख छ । भारतले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको नियम १५२६ अनुसार पनि अन्सारीको सबै सम्पत्ति जफत गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
दाउद इब्राइमको एजेन्ट भएको आरोप लागेका जमिम साहलाई भारतीयले गोली हानी हत्या गरिसकेका छन् । अर्को युनुस अन्सारीलाई पनि भारतीय व्यक्तिले नै जेलमै पुगेर गोली प्रहार गरेका थिए ।