राजनीति

प्रदेश नम्बर २ को चुनावमा यी स्थानमा हुँदैछ कांग्रेस-माओवादी गठबन्धन

प्रदेश नम्बर २ को चुनावमा यी स्थानमा हुँदैछ कांग्रेस-माओवादी गठबन्धन

काठमाडौं । सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन् ।

उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको छ । अन्य नगर र गाउँपालिकाको तालमेलबारे राति अबेरसम्म छलफल जारी छ । दुवै पार्टीभित्र आन्तरिक विवादका कारण अन्तिम समयमा फेरबदल नभए बुधबार हुने उम्मेदवारी दर्ताका क्रममा तालमेलबाट उम्मेदवार खडा हुनेछन् ।

धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसका प्रमुख, माओवादीका उप्रमुख तथा सर्लाहीको लालबन्दी र बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका प्रमुख, कांग्रेसका उपप्रमुख हुने गरी तालमेलको अन्तिम तयारी भएको स्रोतले बतायो । त्यसबाहेक गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाहलगायतका नगरपालिकामा पनि तालमेल गर्नेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहका अनुसार उम्मेवारी दर्ताको अन्तिम समयसम्म पनि तालमेलको पहल जारी रहनेछ । कांग्रेस र माओवादीका नेताहरू वडासम्मै पनि मिलाउनुपर्ने भएकाले तालमेलका लागि अझै कसरत गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदारसँग तालमेल गर्नेबारे स्पष्ट पारेका छन् ।

उनले तालमेलको सम्भावनालाई ख्याल गरेर धेरै स्थानमा मिलाउने प्रयास भइरहेको जानकारी दिए । ‘तालमेलबारे छलफल भइरहेको छ, तर कसरी अघि बढ्छ भन्न सकिन्न,’ कान्तिपुर फाउन्डेसनद्वारा बाढीपीडितका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रममा मंगलबार प्रधानमन्त्री देउवाले भने, ‘केही ठाउँमा तालमेल गर्ने विषयमा छलफल भइरहेको छ ।’ केही स्थानमा उम्मेदवारी दर्ता भएपछि पनि फिर्ता लिने समयसम्म तालमेल मिलाउने प्रयास हुनेछ । नेताहरूले बुधबार मनोनयन परेर फिर्ता लिने समयभित्र तालमेलका विषयमा ठोस छलफल अघि बढ्ने बताएका छन् । कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच एमालेको प्रभाव क्षेत्र रहेका पूर्वपश्चिम राजमार्ग आसपासका करिब एक दर्जन स्थानीय तहमा तालमेल गर्नेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले राजमार्ग क्षेत्रमा आफ्नो संगठन राम्रो रहेकाले सकेसम्म ती क्षेत्रमा आफूलाई छाडिदिन कांग्रेससँग आग्रह गर्दै आएको छ ।

राजमार्ग क्षेत्रका स्थानीय तहमा छोडे बाँकी धेरै स्थानमा सहयोग गर्ने वचन कांग्रेसलाई माओवादीले दिएको छ । कांग्रेसले राजपासँग पनि तालमेलको तयारी गरिरहेको छ ।  राजपासँग नै तालमेल भए ती ठाउँमा पनि सघाउने धारणा माओवादी नेताहरूले कांग्रेससँग राखेका छन् ।

विशेष