राजनीति

राजपाले सबै स्थानीय तहको उम्मेदवार टुंग्यायो

राजपाले सबै स्थानीय तहको उम्मेदवार टुंग्यायो

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले आगामी असोज २ गते प्रदेश नम्बर–२ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको मंगलबार टुंगो लगाएको छ ।

राजपा अध्यक्षमन्डलको बैठकले प्रदेश नम्बर–२ का ८ ओटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका उम्मेदवार छनोट गरेको हो ।

पार्टीभित्र धेरै क्षमतावान्, सक्षम र योग्य व्यक्ति भएपनि सबैलाई स्थानीय तहको प्रमुख–उपप्रमुखमा जिम्मेवारी दिन नसकिएको भन्दै राजपाले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता–कार्यकर्तालाई जिम्मेवारी दिने अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, राजपाले निर्वाचनमा पार्टीलाई अब्बल बनाउन प्रतिबद्धताका साथ खटिन नेता–कार्यकर्तालाई आग्रहसमेत गरेको छ । राजपाले छनोट गरेका महानगरपालिका, उपमहानगरपालिका र मुख्य नगरपालिकाको उम्मेदवारमा क्रमशः पर्साको वीरगन्ज महानगरपालिकाको प्रमुखमा राजेशमान सिंहलाई उठाइएको छ भने उपप्रमुखमा उम्मेदवार छैन ।

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा लालकिशोर साह र उपप्रमुखमा रिता झा र बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा जयप्रकाशप्रसाद शाह र उपप्रमुखमा पिंकी यादव उम्मेदवार छन् ।

त्यसैगरी, सप्तरीको राजविराज नगरपालिका प्रमुखमा शम्भु यादव र उपप्रमुखमा साधना झा, सिरहाको लाहान नगरपालिका प्रमुखमा डा। महादेव साह र उपप्रमुखमा भारतीय गुप्ता रहेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुखमा रामशेखर मिश्र, उपप्रमुखमा मुन्चुनदेवी महतो, सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुखमा नागेश्वर राय र उपप्रमुखमा शमा आरा र रौतहटको गौर नगरपालिका प्रमुखमा जयकुमार गुप्ता, उपप्रमुखमा किरण ठाकुरलाई उम्मेदवार बनाइएको राजपाले जनाएको छ ।

विशेष