राजनीति

पुरुष चुनाव प्रचारमा महिला मेलापात

पुरुष चुनाव प्रचारमा महिला मेलापात

सर्लाही । प्रदेश २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै यहाँका घरघरमा चुनाव लागेको छ।

उम्मेदवार र अगुवा कार्यकर्ता जित सुनिश्चित गर्न घरदैलोमा व्यस्त छन्। मतदाता आकर्षित गर्ने होड सुरु भएको छ तर यस्ता कार्यक्रममा महिलाको उपस्थिति भने शून्यप्रायः देखिन्छ।

‘यहाँका महिला प्रचारमा हिंडैनन्,’ टाउकामा घाँस बोकेर घर फर्किरहेकी हरिपुर २ पिडारीकी नगिनादेवी चौधरीले बिहीबार भनिन्, ‘श्रीमान् जानुभो, हामी त कहिल्यै जाँदैनौं।’ उनका पति बुधबार उम्मेदवारी मनोनयन र्‍यालीमा सहभागी बनेका थिए ।

परिवारका पुरुष सदस्य आफूले समर्थन गरेको दलका लागि भोट माग्न जाने गर्छन्। महिलालाई भने चुलोचौको र मेलापातमै फुर्सद छैन। उनीहरूलाई त्यस्ता कार्यक्रममा सहभागी गराइँदैन। परिवारले खुलेर हिंड्न प्रोत्साहित नगरेपछि उनीहरू घरव्यवहारमा सीमित बन्छन्। ‘कसैले जाऔं भने पो जानु,’ हरिपुर ४ की बच्चियादेवी रायले भनिन्, ‘हाम्रो खोजी नै गरिँदैन।’ गाउँघरमा झण्डा बोकेर पुरुष हिँडेको देख्दा उनलाई रमाइलो लाग्छ ।

तर कसैले वास्ता नगरेको उनको गुनासो छ। पुरुष भोट माग्न जाँदा महिलालाई कामको बोझ थपिने गरेको छ। ‘अहिले उम्मेदवार बनेका महिला मात्रै कार्यक्रममा जान्छन्,’ स्थानीय प्रभु रायले भनिन्, ‘हाम्रो काम बालबच्चा, वस्तुभाउ हेर्न हो।’ बिहीबार जिल्लामा निर्वाचन प्रचारका कार्यक्रममा पुरुष मात्र सहभागी थिए। अधिकांश व्यक्ति मोटरसाइकल र गाडीमा झन्डा राखेर घुमिरहेका देखिन्थे। चौतारा, चियापसल र बजारमा पनि पुरुषकै संख्या धेरै थियो। महिला धान गोड्न, घाँस काट्न, घरायसी काम र गोठालामा व्यस्त थिए ।

‘हामी प्रचारमा जाँदैनौं,’ घाँस काटेर फर्किरहेकी मलंगवा १२ की राजवली मण्डलले भनिन्, ‘घरमूलीले जे चिह्नमा भन्यो, त्यसमै भोट हाल्ने हो।’

कान्तिपुर

विशेष