चीनका उच्च नेतृत्वको नेपाल भ्रमण किन भएन ?
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमण गर्ने तयारी गरे, अन्तिम समयमा रद्द भयो । अघिल्ला राष्ट्रपति हु जिन्ताओ दुवै कार्यकालमा नेपाल आएनन् । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाटमा यसबारे जिज्ञासा राखिरहेका छन, ‘२१ वर्षदेखि चिनियाँ उच्च नेतृत्वबाट नेपालको भ्रमण किन भइरहेको छैन ?’
राष्ट्रपति सीको पहिलो कार्यकाल सकिन लाग्दैछ । तर पनि नेपाल भ्रमण हुन नसकेकोबारे महराले त्यहाँको नेतृत्वसमक्ष गुनासो गरेका छन् । र, भ्रमणका लागि आग्रहसमेत । प्रधानमन्त्री ली खछ्याङ, स्टेट काउन्सिलर याङ जेइछी, विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सोङ ताओसँग उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
महराले चीन नेपालको निकट र सदाबहार मित्र हुँदा पनि उच्च राजनीतिज्ञको भ्रमण नभएको विषयलाई उठाएका थिए । चिनियाँ पक्षले नेपालले भ्रमणका लागि गम्भीर तयारी नगरेको उत्तर दिएको छ । ‘भ्रमण हुँदा कुनै नयाँ सहमति र लगानीको विषय उठ्न आवश्यक हुन्छ । यसमा गृहकार्य भएर उपयुक्त समयमा भ्रमण हुने जानकारी चिनियाँ नेताहरूले दिएका छन,’ एक वरिष्ठ अधिकारीले टेलिफोनमा भने ।
महराले राष्ट्रपति स्तरबाट दुईपक्षीय राजकीय भ्रमण नभएको विषय पनि उठाएका थिए । नेपालबाट चीनतर्फ विशुद्ध दुईपक्षीय (कुनै कार्यक्रमविहीन) भ्रमण हुन नसकेको धेरै भएको छ । नेपाल संघीय गणतन्त्रमा गएपछि बनेका पहिलो राष्ट्रपति रामवरण यादवले बेइजिङको राजकीय भ्रमण नै नगरी आफ्नो कार्यकाल सके । उनी सांघाई एक्स्पोको उद्घाटन सत्रमा सहभागी (२०६७ कात्तिक) र बोआओ फोरमको उद्घाटन सत्रमा (२०७१ चैत) सहभागी भए । तर बेइजिङमा उनलाई रेड कार्पेट ओछ्याइएन । पहिलो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल पनि ओलम्पिकको समापनमा भाग लिन चीन पुगेका थिए । त्यसपछि बनेका सरकारमध्ये माधवकुमार नेपालले मात्र दुईपक्षीय औपचारिक भ्रमण गरेका थिए ।
–कान्तिपुर दैनिकबाट