राजनीति

निवार्चन परिणाम सार्वजनिक गर्न वाम गठबन्धनको ध्यानाकर्षण

निवार्चन परिणाम सार्वजनिक गर्न वाम गठबन्धनको ध्यानाकर्षण

काठमाडौं । वाम गठबन्धनले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।

वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले आज निर्वाचन आयोगमा गएर प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादव र आयुक्तहरुसँग भेटेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले जनताले दिएको मतको सम्मान, संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न माग गरे । गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन भएपछि मात्र समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्ने तयारीप्रति आपत्ति जनाएको छ ।

भेटपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रिय सभामा र प्रतिनिधि सभामा गरी संघीय संसद्मा कुल ३३ प्रतिशत महिलाको संख्या पुग्ने विषयमा कुनै अन्योल नरहेकाले समानुपातिकको परिणाम सार्वजनिक गर्न राष्ट्रिय सभाको निर्वाचन पर्खनु नपर्ने बताए ।

त्यस अवसरमा आयोगका तर्फबाट समस्या समाधानका लागि सामूहिक पहल गर्न तयार रहेको विश्वास दिलाइएको नेता रावलले जानकारी दिए ।

भेटमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नेता भीम रावल सहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, नेताहरु अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ तथा माओवादी केन्द्रका तर्फबाट नेताहरु कृष्णबहादुर महरा, वर्षामान पुन र रामनारायण बिडारी संलग्न थिए ।

 

 

bam gathabandan nirbachan aayog

विशेष