राजनीति

सचिव भट्टराईकाे अाराेपः देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे

सचिव भट्टराईकाे अाराेपः देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे

काठमाडौँ, २८ पुस । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने, ‘सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पूरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो काम गर्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होईनन् । तर उनले बुझीबुझी बुझ पचाएका छन् । देउवाको नियत सफा देखिएन् ।’

साक्षात्कारमा बोल्दै नेता भट्टराईले भने, ‘यो अवधिमा नयाँ सरकार बनिसक्नुपर्दथ्यो, तर बन्न सकेन, प्रक्रिया अवरुद्ध पार्ने काम अहिलेका प्रधानमन्त्री देउवाजीले गर्नुभयो । देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम ग(यो ।’ आफूहरुले आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि नतिजा सार्वजनिक गर्न आलटाल गरिएको उनको आरोप थियो ।

भट्टराईले भने, ‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन् । हामीलाई त जनताको म्याण्डेट प्राप्त भएको छ । अनि हामी सरकार बनाउँछौँ भन्दा किन यस्तो सौदावाजी रु आयोगले संवैधानिक काम गरोस्, विलम्ब नगरी तत्काल परिणाम घोषणा गरोस् ।’

त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारको भएपनि अहिलेकै सरकारले तोक्नेगरि दलहरुबीच नयाँ सहमति हुँदापनि यो सरकारले विलम्ब गरेकोमा आपत्ति जनाए । उनले भने, ‘अब यही सरकारले सबै काम गर्ने भनेर सहमति भएपछि अझैपनि निर्णय नगर्नु दुःखदायी कुरा हो । संविधानका छिद्रा मसिना कुरा र प्वाललाई टेकेर नाटक देखाउनु हुँदैन्, यो सबै नौटंकी कुरा हुन् ।’

उनले नक्कली बाँधहरु अगाडि राखेर आँधीबेहरी छेक्छु भन्ने सपना नदेख्न प्रधानमन्त्री देउवा र निर्वाचन आयोगलाई चेतावनी समेत दिए । उनले भने, ‘आँधबेहरीले नक्कली बाँधहरु सबै भत्काईदिन्छ । खुट्टा टेक्न नसक्नेहरु समाप्त भएर जान्छन् ।’ उनले अहिलेको समस्याको समाधान गर्ने विषयबारे प्रधानमन्त्री देउवाको कोर्टमा बल रहेको पनि स्पष्ट पारे । उनले भने, ‘प्रदेश प्रमुख, अस्थायी राजधानी र सपथग्रहण गराउने ठाउँ, राष्ट्रिय सभाको निर्वाचन समयमै सम्पन्न गर्नुहोस्, हाम्रो सुझाव छ ।’ त्यस्तै उनले निर्वाचन आयोगले पनि अब कुनै नाटक मञ्चन गर्न नहुने चेतावनी दिए ।

सचिव भट्टराईले प्रधानन्यायाधीश गोपाल पराजुली र डाक्टर गोविन्द केसीवीचको विषयमाथि टिप्पणी गर्दै भने, ‘न्यायापालिकाको कुरा हो, के कुरा हो रु तथ्य, प्रमाणहरु बाहिर आओस्, सर्वोच्च अदालतले यथाशक्य चाँडो जनतालाई जानकारी दिओस् । हामी न्यायालयको सम्मान गर्छौँ ।’ उनले न्याय दिने न्यायमुर्तीहरुले आफ्नो ईज्जत, नैतिकता र कर्तव्यको ख्याल गर्नुपर्नेमा जोड दिए ।

उनले हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा बुढापाका नेताहरुले अब विश्राम लिनुपर्छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर आफूले यसअघि नै उठाएको विषयको बारेमा छलफल नै नगरौं भनेर अध्यक्ष केपी शर्मा ओलीले भनेकोले अब त्यो च्याप्टर क्लोज भएको समेत स्पष्ट पारे । उनले पार्टी अध्यक्ष ओली स्वास्थ्य चेकजाँचपछि स्वदेश फर्किएपछि एमाले–माओवादी केन्द्रवीचको एकताले गति लिने विश्वास दिलाए । उनका अनुसार सरकार गठन पुर्व नै पार्टी एकता भैसक्ने छ ।

विशेष