राजनीति

सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोज्यो : नेम्वाङ

सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोज्यो : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् ।

दोलखा–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले प्रदेशप्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताए ।

‘सरकारले षडयन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ’–उनले भने–‘होइन भने सरकारले यथाशीघ्र प्रदेशप्रमुख र अस्थायी राजधानी तोकोस् ।’ उनले सरकारले राष्ट्रियसभाको निर्वाचन समयमा नगराएर आफ्नो कार्यकाल लम्ब्याउन चाहेको धारणासमेत व्यक्त गरे ।

उनले वाम गठबन्धनले बहुमत ल्याउँदा पनि वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरेको गुनासो गरे । पूर्वसभामुख नेम्वाङले व्यवहारमा एमाले र नेकपा माओवादी केन्द्र एक भइसकेको भन्दै अब सैद्धान्तिक हिसाबलेमात्र एक हुन बाँकी रहेको बताए ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्किसकेपछि पार्टी एकतालाई मूर्तरुप दिने बताए । उनले मुलुकमा राजनीतिक दलको निर्वाचन प्रतिस्पर्धा सकिएकाले अब समृद्धिको बाटोमा लाग्नुको विकल्प नभएको पनि बताए ।

सो अवसरमा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, प्रदेशसभा सदस्य पशुपति चौलागाइँ र विशाल खड्काले दोलखाको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

subash chandra nembang

विशेष