राजनीति मुख्य समाचार

कांग्रेसमा विवाद चुलियो, कार्यसम्पादन भंग गर्न पौडेल पक्षको माग

कांग्रेसमा विवाद चुलियो, कार्यसम्पादन भंग गर्न पौडेल पक्षको माग

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति पुनर्गठन वा भंग गर्न माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सोमबार बिहान भएको भेटमा पौडेलले यस्तो माग राखेका हुन् ।

विधानविपरीत कार्यसम्पादन समिति २९ र संसदीय समिति २७ सदस्यीय बनाएर शीर्ष नेताका निकटस्थलाई टिकट दिइएको पौडेल पक्षको आरोप छ । पौडेल पक्षको भेलाले यी दुई समिति भंग गर्न सभापतिसँग माग गर्ने जिम्मेवारी पौडेललाई दिएको थियो । ‘निर्वाचनको परिणामपछि कांग्रेसमा करेक्सन जरुरी देखिएको छ । यस विषयमा गम्भीर रूपमा कदम चाल्नुपर्ने विषय सभापतिसँग राखेको छु,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानविपरीत भयो । यसलाई सके सुधार गरौँ, होइन भने विघटन गरेर अर्कै बनाऊँ भन्ने प्रस्ताव राखेको छु ।’

सभापति देउवाले भने पौडेल र महामन्त्री डा। शशांक कोइरालाको समेत सहमतिमा कार्यसम्पादन समिति तथा संसदीय समिति सदस्य थप गरिएको जवाफ फर्काएका थिए । ‘तपाईंहरूको समेत सहमतिमा सदस्य थपिएको हो । तपाईंहरूले पनि थपौँ भन्नुभयो अनि थपिएको हो,’ देउवाले भने । सदस्य घटाउने हो भने पनि आफू तयार रहेको देउवाको भनाइ थियो ।

बुधबार केन्द्रीय समिति बस्न सक्ने

नेता पौडेलले छिटै केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवासँग माग गरेका छन् । ‘निर्वाचनपछि साथीहरूमा धेरै निराशा छ । यसका लागि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन भनेको छु,’ पौडेलले भने, ‘बुधबारका लागि बैठक डाक्ने वचन सभापतिले दिनुभएको छ ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अस्वाभाविक पराजय भोग्नुपरेपछि कांग्रेस युवा नेताहरू, पौडेलपक्षीय नेता, कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतले छिटै केन्द्रीय समिति बैठक बोलाएर समीक्षा गर्न आग्रह गर्दै आएका छन् । उनीहरूले महासमिति बैठक अविलम्ब डाक्न माग गरेका छन् ।

रामचन्द्र पौडेलको प्रश्न

निर्वाचन परिणामले कांग्रेसमा ‘करेक्सन’ र ‘सिरियस्ली’ कदम चाल्नुपर्ने भएको छ । कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानविपरीत भएकाले यसलाई सकिन्छ सुधारौँ, नभए विघटन गरेर अर्कै बनाऔँ ।

देउवाको जवाफ

तपाईं र शशांकजी समेत सहमत भएर सदस्य थपिएको हो । सदस्य घटाऊँ भन्नुहुन्छ भने म तयार छु ।

पौडेलकै सहमतिमा गठन

विधानमा कार्यसम्पादन समिति बढीमा २२ र संसदीय समिति बढीमा १४ सदस्यीय हुने व्यवस्था छ । तर, निर्वाचनअघि पौडेलसमेतको सहमतिमा सभापति देउवाले कार्यसम्पादन समिति सदस्य २९ र संसदीय समिति २७ सदस्यीय बनाएका थिए । कार्यसम्पादन समिति केन्द्रीय समिति नियमित नबस्दा बस्ने समिति हो भने संसदीय समिति निर्वाचनमा टिकट बाँड्ने समिति हो । निर्वाचन परिणामपछि यी दुवै समितिविरुद्ध नेता–कार्यकर्तामा असन्तोष बढेको भन्दै पौडेलले पुनर्गठन वा भंग गर्न माग गरेका हुन् ।

राष्ट्रिय सभाबारे छलफल

देउवाले राष्ट्रिय सभा उम्मेदवारसहितका तयारीबारे छलफल थालेका छन् । उनले सोमबार नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसँग छलफल गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बिहान पनि राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेबारे छलफल हुने बताए । ‘राष्ट्रिय सभाका लागि पार्टीमा छलफल सुरु भएको छ,’ उनले भने, ‘मंगलबार बिहान कांग्रेसका शीर्ष नेताको बैठक पुनः बस्दै छ । यसमा पनि राष्ट्रिय सभामा पार्टी तयारी, प्रदेश प्रमुख र अस्थायी मुकामका विषयमा छलफल हुँदै छ ।’

मंगलबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । त्यसअघि देउवाले कांग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । स्रोतका अनुसार सातवटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोक्नैका लागि देउवाले मन्त्रिपरिषद् बैठक मंगलबार दिउँसोलाई सारेका हुन् ।– नयाँ पत्रिका दैनिकबाट

विशेष