राजधानी माग्दै दाङ र धनकुटामा फेरि चर्कियो आन्दोलन, सरकारलाई दबाब
दाङमा अनिश्चितकालिन बन्द आह्वान
काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउनुपर्ने भन्दै स्थानीय अगुवा तथा स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले अनिश्चितकालिन बन्दको घोषणा गर्दै बजार ठप्प पारेका छन् ।
बुधबारदेखि लागु हुने गरी आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । सवारी आवागमन रोक लगाइएको छ भने शिक्षण संस्थाहरु बन्द छन् ।
बुधबार बिहानैदेखि स्थानीयहरुले सहरका मूख्य चोकहरुमा टायर बाल्दै नारावाजी गरिरहेका छन् । यता सरकारले दाङलाई प्रादेशिक राजधानी नबनाउने प्रयास भएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।
यस्तै धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने भन्दै त्यहाँ पनि आन्दोलन भइरहेको छ । धनकुटालाई राजधानी बनाउनुपर्ने माग गर्दै केही सातादेखि नै धनकुटाबासीहरुले आन्दोलन गर्दैआएका हुन् ।
बुधबार काठमाडौंमा बस्ने मन्त्रिपरिषद बैठकले धनकुटाको सट्टा विराटनगरलाई राजधानी तोक्नसक्ने भन्दै धनकुटामा बुधबार बिहानैदेखि आन्दोलन उठेको हो ।
प्रदेश ५ को राजधानी बुटवल बनाउनसक्ने र प्रदेश १ को राजधानी विराटनगर बनाउनसक्ने सम्भावना बढेपछि दाङ र धनकुटामा आन्दोलन चर्किएको हो ।
केहीदिनअघि शिथिल देखिए पनि बुधबार काठमाडौंमा मन्त्रिपरिषद बैठक बस्ने भएपछि दबाबस्वरुप स्थानीय अगुवाहरु फेरि तातेका हुन् । दाङ र धनकुटामा केही सातादेखि नै उठेको राजधानीको मागका कारण यता काठमाडौंमा सरकारले पनि बदाद महसुश गरिरहेको बुझिएको छ । बुधबार सुरु भएको मन्त्रिपरिषदमा यस विषयले पनि महत्व पाउने बुझिएको छ ।