सुजाता कोइरालाले मागिन् देउवाको राजीनामा (भिडियोसहित)
'शेरबहादुरजीले तत्कालै सरकार छोड्नुपर्छ'
काठमाडौं । पछिल्लो चुनावमा अनपेक्षित मत परिणाम आएपछि नेपाली कांग्रेसका नेताहरुबीच भेटघाट र छलफल तिब्र हुँदैआएको छ ।
पार्टीका केन्द्रीय स्तरका नेताहरु विभिन्न समूहमा अनौपचारिक छलफलमा केन्द्रित छन् । पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरु आआफ्नै किसिमले आन्तरिक छलफलमा लागेका हुन् ।
यस्ता भेटघाट र छलफलको लगभग साझा समीक्षा के छ भने, ‘चुनावमा पार्टी कमजोर भयो ।’ पार्टी स्थापना र संगठन विस्तारमा लामो भूमिका रहेको कोइराला परिवारमा भने पार्टीको चिन्ता सँगै पारिवारिक प्रभाव खस्केको चिन्ता थपिएको छ ।
यही सन्दर्भमा कांग्रेस नेत्री सुजाता कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकको दुई दिनअघि कोइराला परिवारका दुई प्रभावशाली नेता शशांक कोइराला र शेखर कोइरालालाई निवासमै बोलाएर छलफल गरिन् ।
‘पार्टीमा कोइराला परिवारको नेतृत्वदायी भूमिका रहनुपर्यो’ भन्दै उनले शशांक र शेखरलाई निवासमा बोलाएकी थिइन् ।
उनको यस्तो पारिवारिक बैठक बसेको भोलिपल्ट बिहानै मण्डिखाटारस्थित उनकै निवासमा नेपालआज टीम पुग्यो । र सुजातासँग आधा घण्टाको अन्तरवार्ता तय भयो ।
अन्तरवार्ताको क्रममा सुजाताले नेपालआजसँग पहिलोपटक आफ्नै पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् ।
उनले खुलेर भनिन्, ‘हाम्रो पार्टीलाई जनताले विश्वास नगरेपछि उहाँले तत्काल नै राजीनामा दिनुपर्ने थियो ।’ सभापति देउवाको पार्टी संचालनमा भूमिका खराब रहेको भन्दै सुध्रिनुपर्ने बताइन् । साथै चुनावमा देउवाकै कारण धेरै स्थानमा हार्नुपरेको पनि उनको गुनासो थियो ।