कामचलाउ सरकारले जथाभावी नियुक्ति गरेकोमा हाम्रो गम्भीर आपत्ति छः एमाले
काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बुधबार बसेको बैठक सम्पन्न भएको छ । बैठकले वर्तमान सरकारले जथाभावी नियुक्ति गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
‘कामचलाउ हैसियतको सरकारले नयाँ दरवन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने र राज्यकोषको दोहन गर्ने काम रोकेको छैन’ सचिव योगेश भट्टराईले भने, ‘यसप्रति हाम्रो गम्भीर आपत्ती छ ।’
पार्टी मुख्यालय धुमबाराहीमा बसेको स्थायी समितिको बैठकले कामचलाउ हैसियतमा रहेको सरकारले मनपरी नियुत्ती गरेको भन्दै त्यसप्रति आपत्ती जनाएको हो ।
साथै बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवैधानिक दायित्व पूरा गरी राष्ट्रियसभाको चुनाव निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको संवैधानिक अधिकार भएको भन्दै संवैधानिक दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रदेश प्रमुख र अस्थायी मुकामबारे सरकारले आफूहरुसँग सल्लाह नगरेकाले नयाँ सरकार गठनपछि त्यसको निरन्तरताबारे अहिले भन्न नसकिने एमालेको ठहर छ ।
यस्तै, राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारका नाम सिफारिस गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुबाट गर्न मातहत कमिटीहरुलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।