राजनीति

दाङमा आन्दोलन चर्कियो, सरकारी काम गर्न नदिने उद्घोष

दाङमा आन्दोलन चर्कियो, सरकारी काम गर्न नदिने उद्घोष

दाङ । सरकारले ५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङवासी झन् आक्रोशित भएका छन् ।

जारी आन्दोलन अझ कडा बनाउने भन्दै उनीहरुले सबै क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् । प्रदेशको अस्थायी मुकाम रुपन्देहीलाई तोकेकामा उनीहरु अवज्ञामा उत्रेका हुन् ।

आन्दोलनकारीहरुले आजदेखि अनिश्चितकालिन आम हड्ताल गर्दै सरकारी कार्यालयमा काम गर्न नदिने उद्घोष गरेका छन् ।

माघ ३ गतेलाई कालो दिनका रुपमा मनाउने पनि उनीहरुको भनाइ छ । अस्पताल र एम्बुलेन्सबाहेक सबै क्षेत्र बन्द गराइने घोषणा उनीहरुले गरेका हुन् ।

दाङको घोराही, तुलसीपुर, लमही क्षेत्रमा प्रदर्शन जारी नै छ । बन्दले जनजीवन पुरै ठप्प बनेको छ । यातायात, बजार, कालकारखाना, शैक्षिक संस्था केही पनि चल्न दिइएको छैन ।

यसैगरी धनकुटा र डोटीमा पनि सरकारको निर्णयविरुद्ध प्रदर्शन कायमै छ । आफ्नो ठाउँलाई राजधानी नतोकेको भन्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन नै गरेका छन् ।

सरकारले एक नम्बरको अस्थायी मुकाम विराटनगर र सात नम्बरको धनगढी बनाउने निर्णय गरेपछि उनीहरु उग्र बनेका हुन् ।

विशेष