१९८९ को त्यो ‘रेडलाईन’, जसले वीरगञ्ज विवाद निम्त्यायो (भिडियाेसहित)
नेपालकै गल्तीले वीरगञ्जमा ५० बिघा जमिन गुमाउनुपर्यो
काठमाडौं । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ स्थित नेपालको ५० बिगाहा जमिन भारततर्फ पर्न गएको भन्दै अहिले नेपालका विभिन्न क्षेत्रमा सोही कुरालाई लिएर आन्दोलन भइरहेको छ ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् भने केही पार्टीले प्रेश विज्ञप्ति जारी गर्दै वीरगञ्ज घटनाको विरोध गरेका छन् ।
वीरगञ्ज घटना भएको भोलिपल्टै सीमावीद् बुद्धीनारायण श्रेष्ठले वीरगञ्जको समस्या कसरी उत्पन्न भयो भनी बिस्तृतमा ब्याख्या गरेका थिए । नेपालआजसँग सीमावीद् श्रेष्ठले व्यक्त गरेका बिचारको सम्पादित अंश ।
‘नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमारेखा छ । यसका लागि ८ हजार ५ सय ५३ खम्बा आवस्यक पर्छन् भनेर अंकन गरिएको छ । तर जमिनमा भने ४ हजार ३ सय ६० खम्बा मात्रै स्थापना गरिएको छ । त्यसमध्ये पनि १० वटा खम्बा त खोलाले बगाएको छ । २ सय खम्बा लोप भएका छन् ।सयौँ ठाउँमा दशगजा नै अतिक्रमण भएको छ । सीमा धमिलो भएकाले अन्तरसीमा जोत कमोत दखल भएर नेपालको भूभाग भारतले हडप्ने अवस्था आएको हो ।
खासमा सीमाअंकन गर्न भनी सन् १९८१ नेपाल–भारत प्राविधिक स्तरीय संयुक्त समिति गठन भएको थियो । उक्त समितिले सीमा नक्सा बनायो र त्यसले सन् २००७ को डिसेम्बरसम्म काम गर्यो । समस्या कहाँबाट पन िआयो भने उक्त समितिले ९७ प्रतिशत काम सकेर छोडिदियो । र ३ प्रतिशत काम बाँकी रह्यो । कालापानी, लिम्पियाधुरा र लिपुलेक सोही ३ प्रतिशत बाँकी कामको प्रतिफल हो ।
२००७ मा सो समिति बिघटन गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आएका बेला दुई देशबीच ‘बोर्डर ओर्किङ ग्रुप’ गठन भयो । उक्त ग्रुपमातहत ‘सर्वे अफिसियल कमिटी’ गठन भयो ।
त्यस अन्तरगत जिल्ला–जिल्लामा फील्ड सर्वे टीम पनि बनाइयो । अहिले काम गरिरहेको छ त्यस टीमले । नेपालको चार क्षेत्रमा काम गरेकोमा ठाउँ–ठाउँमा समस्या उत्पन्न भएको छ । त्यही समस्यामध्ये हो, वीरगञ्ज महानगरपालिका वडा १, इनरुवा क्षेत्र ।
खासगरी पुरानो जंगे खम्बा ३३, ३४, ३५ खम्बालाई मूल नमानेर सहायक खम्बा स्थापना गर्न लागेको बेला नेपालतर्फको भूभागमा स्थापना गर्न लाग्दा नेपालको भूभाग मिचिएको भन्दै विवाद आएको हो ।
बद्रीप्रसाद कानुको जमिन भारततर्फ पर्न गयो भनी जे समाचार आएको छ, त्यही एउटा समस्या हो । पुरानो जंगे खम्बालाई मान्य नगरेर नयाँ खम्बा गाड्न खोज्दा यस्तो समस्या आएको हो ।
वीरगन्जमा किन समस्या ?
सीमा नापीको इतिहास अनुसार सन् १८१६ मा सुगौली सन्धी अनुसार सीमा नापी र नक्सा बनाउने काम भयो । जंगे खम्बा ठोकियो । जुन काम ब्रिटिश सर्भेयरले गरेका थिए । १८६० पछि १९८२ र ८३ मा अंग्रेजले जंगे खम्बा गाडेका थिए । तिनलाई बेवास्ता गरेर नेपाल र भारतका सर्वेयर बसेर नक्सामा रातो लाईन ताने । अहिले भनिने ‘रेडलाईन’ नक्सा भनेको त्यही हो ।
हाम्रै कमजोरी र सुझबुजको कमीले सन् १८८९ मा रातो लाईन तानियो । रातो लाईन तान्ने क्रममा पुरानो जंगे खम्बा भारततर्फ पर्ने गरी रातो लाईन तानिएको थियो । त्यसक्रममा हाम्रो तर्फबाट ब्यापक कमजोरी भयो । त्यही क्रममा जंगे खम्बा नम्बर ३३, ३४ र ३५ निस्क्रिय भएको हो । अहिले आएर सोही रेडलाईन म्याप अनुसार खम्बा गाड्न खोज्दा वीरगञ्जको समस्या उत्पन्न भएको हो ।'