रानीपोखरीमा ५ करोड स्वाहा, फेरि भत्काएर पुरानै शैलीमा बनाउनुपर्ने
‘कहिले बन्छ ?, कति लाग्छ खर्च ?’
काठमाडौ । राजधानीको मुटुमै रहेको ऐतिहासिक सम्पदा रानीपोखरी पुनःनिर्माण गर्ने भन्दै काठमाडौं महानगरपालिकाले करोडौँ खर्च गरिसकेको छ । यद्यपि काम अघि बढ्न सकेको छैन ।
त्यसैमाथि महानगरका पदाधिकारीहरुबीच वादविवादले गर्दा भद्रगोल श्रृजना भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्गीबीच विवाद उत्पन्न भएपछि पनि रानीपोखरी पुनःनिर्माणको काम थप अन्योल भएको हो ।
मेयर शाक्यले रानीपोखरीको पुरानो संरचना नामेट पार्दै कंक्रीट बनाउने र पोखरी क्षेत्रभित्रै क्याफे सञ्चालनका लागि ठेक्का दिने तयारी गरेपछि विज्ञ तथा स्थानीयहरुले समेत चर्को विरोध गरे ।
विज्ञको सुझाव र स्थानीयको विरोधको बलमा पुस १ गते उपमेयर खड्गीले निर्माणाधिन क्षेत्रमै गएर काम रोक्न भन्दै ताल्चा लगाइदिन् । मेयर शाक्यले भने काम सुचारु गराउन फेरि निर्देशन दिए ।
तर मेयर–उपमेयरको विवाद यहाँसम्म सार्वजनिक भइसक्दा महानगरको ढुकुटीबाट १ करोड स्वाहाः भइसक्यो भने ४ करोड निर्माणका लागि मात्रै खर्च भइसकेको छ । जब कि, वालगोपालेश्वर मन्दिर निर्माणमा १ करोड खर्च भएको हो ।
मेयर र उपमेयरबीच विवाद चर्किएपछि पुस १३ गते बिहीबार रानीपोखरी पुनःनिर्माणका लागि अध्ययन गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्य समिति गठन भयो ।
उक्त समितिले १५ दिनभित्रै सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्ने भनी तोकिएको समयसीमाभित्रै प्रदिवेदन पनि बुझायो । प्रतिवेदनमा दिइएको सुझाव अनुसार रानीपोखरीको पुरानै संरचनामा बनाउनुपर्ने भएको छ ।
उक्त समितिको सुझावअनुसार महानगरले फेरि अहिलेको निर्माणाधिन संरचना भत्काउनुपर्ने छ । साथै फेरि पुरानै शैलीमा निर्माण कार्य थाल्नुपर्नेछ । यसले महानगरलाई फेरि अर्को अपजशको भारी बोकाएको छ ।
करोडौं खर्च भइसक्दा पनि पुनः निर्माण जस्ताको त्यस्तै हुनु, विरोध आइरहनु, साथै सकिएको काम भत्काएर फेरि खर्च दोहोरिनु जस्ता समस्याले महानगरपालिकाकाका मेयर शाक्यको अदूरदर्शिता देखिएको छ ।
यसरी विसं २०७२ मै शिलान्याश गरिएको कामको अझै टुंगो लागेको छैन । सरकारले गत कात्तिक मसान्तरसम्ममा पुनः निर्माण सक्ने गरी ठेकेदार कम्पनी वल्र्डवाइड कंडेल केएन केजीजेभीसँग सम्झौता गरेको थियो । तर शुरुमै महानगर र ठेकेदार कम्पनीबीच नै विवाद भएपछि पुनः निर्माणमा ढिलाइ भएको हो ।
रानीपोखरी पुनः निर्माणमा ६ करोड २९ लाख लागत लाग्ने महानगरपालिकाको अनुमान थियो । तर विवाद सुल्झाउन र सुझावका लागि बनेको ११ सदस्यीय समितिको सुझाव आएपछि भने अनुमानित खर्च भन्दा बढी हुने पक्कापक्की देखिएको छ ।
प्रदिवेदनले दिएको सुझाव मान्ने हो भने अहिलेसम्म ४ करोड ब्यर्थमा खर्च भइसकेको छ । किनकि, अहिलेसम्म कंक्रीटको शैलीमा निर्माण भएको आधार भत्काउनुपर्ने छ ।
असारमै बन्नुपर्ने मन्दिर अझै बनेनः
रानीपोखरी क्षेत्रभित्रको बालगोपालेश्वर मन्दिर गत असार मसान्तभित्रै बनिसक्नुपर्ने थियो । तर काम भने शुन्यःप्राय छ । मन्दिर निर्माणमा पनि सिमेन्ट र रडजस्ता आधुनिक सामाग्रीको प्रयोग गरेर पुनःनिर्माण गरेपछि विवाद उत्पन्न भएको हो । जसकारण पुरातात्विक विभागले एक वर्षपछि पुरातात्विक स्थलमा आधुनिक समाग्री प्रयोग गर्न नपाउने भन्दै भत्काउन लगाएको थियो । तर काम भने सुचारु भएन ।
कँडेल–राम जेभी कम्पनीले एक करोड ४० लाखको लागतमा मन्दिर पुनःनिर्माणको काम अघि बढाएर १२ पिलर उठिसकेको अवस्थामा विभागले संरचना भत्काउन लगाएको हो । परम्परागत निर्माण सामग्रीले बनेका सम्पदा हजारौँ वर्ष टिक्ने तर सिमेन्ट प्रयोग गर्दा ७० वर्षभन्दा बढी नटिक्ने भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्न रोक लगाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए ।
महानगरपालिकाका अनुसार संरचना निर्माण भएर पुनः भत्काउन लगाएपछि एक करोड खर्च भएको हो । रानीपोखरी र बालगोपालेश्वर मन्दिर निर्माणका लागि पाँच करोड बजेट सकिएको छ तर पुनः निर्माणले सम्पदाको अस्तित्व सकिने खतरा भने बढेको छ ।