राजनीति

पार्टी एकता निष्कर्षमा पुगिरहेको छ : नेम्वाङ

पार्टी एकता निष्कर्षमा पुगिरहेको छ : नेम्वाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन् ।

संघीय मामिला तथा कानुन विभाग अनेरास्ववियुले शनिबार राजधानीमा ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले वाम गठबन्धन मिल्नुको कुनैपनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए ।

संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उनले भने–‘संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन । हाम्रो कमजोरी हो ।’

संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि, विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।

उनले राष्ट्रियसभाको निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या घट्ने दाबी गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको बताए ।

नयाँ सरकारका लागि कानुनी जटिलता भएपनि फुकाउन सकिने भन्दै उनले सरकारले परिमाणलाई सहर्ष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङले नयाँ सरकारले नयाँ योजना र नीति ल्याएर मुलुकलाई समृद्धि बनाउने बताए ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अब बन्ने सरकारले विद्यार्थीको हक–हितका लागि ध्यान दिनुपर्ने विचार व्यक्त गरिन् ।

subash chandra nembang

विशेष