वाम सरकारले बनाउला त अयोधीप्रसादलाई उपराष्ट्रपति ?
मतपरिणामअघि यादवले जब उपराष्ट्रपतिका लागि 'बार्गेनिङ' गरे...
काठमाडौं । निर्वाचन मतपरिणाम सार्वजनिक नगरेको विषयलाई लिएर निर्वाचन आयोग र नेकपा एमालेबीच लामो समय सौदावाजी चल्यो । एमालेका केही नेताहरु र आयोगका प्रमुख आयुक्तबीच ‘भाषणी झगडा’ पर्यो ।
एमालेका धेरैजसो नेताहरुले अन्तर्य नबुझेरै आयोगविरुद्ध आन्दोलन चर्कियो । केही नेताले त ‘आयोग कांग्रेस वा भारतको ईशारामा आलटाल गर्दैछ’ समेत भने । माओवादीका नेताहरुले समेत आयोग भारतबाट निर्देशित भनेर भाषण गरे ।
ति सब देखिएका दृश्य थिए । तर यथार्थमा त्यहाँ केही रहस्यमय घटना भएको थियो । आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवका निकटस्थ आयुक्तका अनुसार यादवले एमाले र माओवादीका उच्चस्तरीय नेताहरुसँग कार्यकाल सकिएपछि उपराष्ट्रपति बनाउनुपर्ने भन्दै आग्रह गर्दैआएका थिए ।
यसअघि माओवादीको नियुक्ति प्रमुख आयुक्त बनेका यादव यसपटक भने कार्यकाल सकिएपछि उपराष्ट्रपति बनाइनुपर्ने भन्दै कानुनी अड्चन देखाएर मतपरिणाम सार्वजनिक गर्न ढिलो गरेको बुझिएको छ ।
आयोगका उच्च अधिकारीका अनुसार यादवलाई उपराष्ट्रपति बनाउने शर्तमा एमाले र माओवादीका उच्च नेताहरुबीच ‘सतही सहमति’ समेत भएको छ । तिनले दाबी गरे, ‘यादवलाई उपराष्ट्रपति बनाउने’ विषयमा वाम गठबन्धनमा छलफल हुन थालेको छ ।
त्यसो त, यादवले निर्वाचन गर्नुअघि नै आफ्नो सुरक्षित अवतरणको खोजीमा थिए । आयोगको कार्यकाल सकिएपछि उनले अर्को नियुक्ति के हुनसक्छ भन्दै केही राजनीतिक नेताहरुसँग चिन्ता प्रकट गर्दैआएका थिए ।
निर्वाचन मतपरिणाम सार्वजनिक गर्नुअघि पनि उनी केपी ओली, प्रचण्ड लगायत एमाले र माओवादीका केही प्रभावशाली नेताहरुसँग नियमित छलफलमा थिए । एमालेका नेताहरुले भने तत्कालका लागि मतपरिणाम चाहिएकाले ‘उपराष्ट्रपतिको आश्वासन’ दिएको हुनसक्ने चर्चा आयोगमा छ ।