राजनीति

अनुराधालाई हेटौडामा यसरी गरियो स्वागत

अनुराधालाई हेटौडामा यसरी गरियो स्वागत


मकवानपुर । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले संविधान अनुसार देश विकासमा अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छिन्। राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएर शनिबार प्रदेशको अस्थायी राजधानी हेटौंडा आइपुगेकी उनले पदभार ग्रहणपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै सबैको सहकार्यमा संविधानको भावना र मर्म अनुरुप कार्य अगाडि बनाउदै देश बिकासमा सहभागी बन्न आग्रह गरिन्।

निक्कै शान्त र भद्र रुपमा प्रस्तुत भएकी उनले ३ नम्बर प्रदेश प्रमुख कार्यालयमा साँझ करिब ६ बजे पदभार ग्रहण गरेकी हुन्। प्रदेश प्रमुख कोइरालालाई प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर १ का साँसद कृष्णप्रसाद दाहाल, प्रदेश साँसदहरु डोरमणि पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ लगाएतले फूलको गुच्छा र खादाले स्वागत गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडाशैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, ३ नम्बर प्रदेशका प्रहरी अतिरिक्त महानिरिक्षक केशरीराज घिमिरे, नेपाली सेना मध्यपृतनाका उपरथी प्रभुराम शर्मा, सशस्त्र प्रहरी नायव महानिरीक्षक कबिन्द्रमान श्रेष्ठ तथा विभिन्न सरकारी निकायका प्रमुखहरु लगायतले स्वागत गरेका थिए।

प्रदेश प्रमुखले पदभार ग्रहण गर्नुअघि नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। सडक मार्गबाटै आएकी प्रदेश प्रमुख कोइरालाको स्वागत् गर्दै हेटौंडा–१, चौकीटोलदेखि सडकको दायाँ–बायाँ घडा राखिएको थियो। प्रदेश प्रमुख र प्रदेश साँसदहरु आउने भएपछी हेटौडा बजारको सरसफाईसँगै सुरक्षा ब्यवस्था कडा पारिएको छ। मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुख कार्यालय बनाइएको छ।

विशेष