राजनीति मुख्य समाचार

ओली प्रचण्डकाे कुरा मिल्याे, प्रचण्ड कार्यवाहक अध्यक्ष बन्ने

ओली प्रचण्डकाे कुरा मिल्याे, प्रचण्ड कार्यवाहक अध्यक्ष बन्ने

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीको नीति, नेतृत्व र दुवै पार्टीका नेताहरूको व्यवस्थापनमा केन्द्रित ‘निर्णायक छलफल’ गरेका छन् ।
ओलीनिवास बालकोटमा शनिबार भएको छलफलका आधारमा आइतबार बस्ने एकता संयोजन समिति बैठकबाट पार्टी एकतालाई पूर्णता दिन दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने समझदारी भएको छ ।

एकीकृत पार्टीको समाजवादउन्मुख कार्यदिशा हुने समझदारीअनुसार एकता संयोजन समिति बैठकबाट दुवै पार्टीका नेताहरू रहेको कार्यदल बन्नेछ । सैद्धान्तिक–वैचारिक पक्ष मिलाएर भावी कार्यदिशा बनाउने कार्यदल र केन्द्रीय नेतृत्वसहित तल्लो तहसम्मको एकताका लागि संगठनात्मक ढाँचा मिलाउन सुझाब दिने कार्यदल बनाउने तयारी छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच एकतालाई पूर्णता दिने गरी एकता संयोजन समितिमा एजेन्डा प्रस्ताव गर्ने समझदारी भएको बताए । गत २५ पुसमा बसेको संयोजन समितिको बैठकमा ओली थाइल्यान्डबाट फर्किएलगत्तै कार्यदल बनाएर एकता प्रक्रियालाई तीव्रता दिने निर्णय भएको थियो । कार्यदलअघि दुवै पार्टीका अध्यक्षलाई निर्णायक छलफल गर्ने ‘म्यान्डेट’ बैठकले दिएको थियो ।

नेतृत्वको दुई मोडालिटीमा निर्णायक छलफल

नेतृत्वबारे तीनभन्दा बढी मोडालिटीमा छलफल हुँदै आए पनि शुक्रबार र शनिबार ओली र प्रचण्डबीच दुवै अध्यक्ष रहने कि एक अध्यक्ष र अर्को सहअध्यक्ष रहेर एकीकृत पार्टीको मूल नेतृत्व टुंग्याउने विषयमा केन्द्रित रहेर छलफल भएको छ । दुवै अध्यक्ष रहँदा सरकारको नेतृत्व गर्ने भएकाले एउटा सेरेमोनियल भूमिकामा रहने र अर्कोले पार्टी सञ्चालन गर्नेबारे छलफल भएको छ ।

अर्को मोडालिटीअनुसार कार्यकारी अधिकारसहित प्रचण्ड कार्यवाहक अध्यक्ष बन्ने भन्नेमै केन्द्रित रहेर छलफल चलेको उच्च स्रोतले जनाएको छ । तर, प्रचण्डनिकट स्रोतले भने दुई नेताबीच एउटाले सरकारको नेतृत्व गरे अर्कोले पार्टीको नेतृत्व गर्ने गरी करिब–करिब समझदारी भइसकेको दाबी गरेको छ ।

दुवै मोडालिटीमध्ये जुनसुकैमा सहमति भए पनि अहिलेका एमालेका पदाधिकारीहरू कायम रहने र माओवादीका केही नेतालाई उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको जिम्मेवारी दिने गरी छलफल केन्द्रित भएको छ । यसो गर्दा माओवादी केन्द्रका पाँचदेखि सातजना नेता पदाधिकारी बन्नेछन् । यो मोडालिटीमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अहिलेकै मर्यादाक्रममा रहनेछन् भने माओवादी केन्द्रबाट एकजना वरिष्ठ नेता थपिन सक्नेछ । त्यस्तै, एमालेको २०६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ८२ तथा पार्टी एकतामा संलग्न विभिन्न नेता र आवश्यक अन्य नेताहरूसमेत थपेर तीन सयदेखि बढीमा ३२५ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

सैद्धान्तिक र सांगठनिक कार्यदल बन्ने

दुई नेताबीच पार्टी एकता संयोजन समितिको बैठकबाट एकताको साझा दस्ताबेज तयार गर्ने सैद्धान्तिक–वैचारिक कार्यदललाई तोकेरै कार्यादेश दिने समझदारी भएको छ । ‘यो कार्यदलले कम्युनिस्ट आन्दोलनबारे दुवै धारले हेर्ने दृष्टिकोणको अहिलेसम्मको समीक्षा, जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता र उपलब्धि तथा भावी कार्यदिशाका विषयमा एकता संयोजन समितिलाई सुझाब दिनेछ,’ प्रचण्डनिकट स्रोतले भन्यो । त्यस्तै, संगठनात्मक एकतासम्बन्धी कार्यदललाई दुवै पार्टीको संगठनात्मक प्रणाली, अन्तरिम विधान, तलसम्मका पार्टी कमिटी र जनसंगठनहरूबीचको एकता कसरी गर्ने विषयमा नीतिगत सुझाब दिन पाउने कार्यादेश दिने तयारी छ । दुवै कार्यदलले दिएको सुझाबलाई एकता संयोजन समितिले पारित गरेपछि एकताको मिति टुंगो लाग्ने नेताहरूको भनाइ छ ।

पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक ढाँचाका बारेमा पनि उनीहरुबीच छलफल भएको हो । दुई नेता सहित आज दिउँसो ३ बजे एकता संयोजन समितिको बैठक बस्ने निधो भएको छ । –नयाँ पत्रिका दैनिकबाट

विशेष