राजनीति

के चाहन्छन् ‘वाम एकता’बाट उदास युवाहरु ?

आहुतीको नेतृत्वमा यस्तो अभियान

के चाहन्छन् ‘वाम एकता’बाट उदास युवाहरु ?

 

एमाले–माओवादी एकता अभियानलाई ‘वाम एकता अभियान’ को नाम दिइएको छ । जुन आफैँमा एक अपेक्षित भूलभूलैया हो । एकता अभियानका दुई नायक केपी ओली र प्रचण्डका लागि यो अवस्य सुखद् हुँदैआएको छ । तर सिंगो माओवादी आन्दोलनलाई प्यार गर्नेहरु, देशका दुखी–गरिब, उपेक्षित, पीडित, अल्पसंख्यक समुदायसँग जोडिएकाहरुका लागि यो एकता पक्कै सुखद् भएन ।

 

दुख् किन पनि भयो भने, भरोसा गरिएको पार्टी माओवादी अर्को ‘सरकारी पार्टी’ एमालेसँग बिलय भयो । त्यसो त, एमाले आफैँ कुनै बेलाको क्रान्तिकारी पार्टी नै थियो ।

 

आखिर यी दुबै पार्टीमा रहेका वा नरहेका प्रगतिशिल र क्रान्तिकारी युवाहरु अहिलेको ‘वाम एकता’ वाला पार्टीसँग मोह भंग बनाइसकेका छ ।

 

यी युवाहरुको ठूलो जमातको नेतृत्व ‘लूज’ रुपमा माओवादी केन्द्रका नेता आहुतीले गर्दैआएको देखिन्छ । उनका पछिल्लो बिचार र अभिव्यक्तिले असन्तुष्ट सिंगो समूहलाई उनले मार्गदर्शन गर्दैआएका छन् ।

 

दुखद् के भने, पेरिसडाँडामा भएको पछिल्लो माओवादी कार्यक्रममा अध्यक्ष प्रचनण्डले उनै आहुती र असन्तुष्ट नेताहरुको सैद्धान्तिक विषयलाई हावामै उँडाए ।अर्थात् उनी अहिले आहुतीहरुले उठाएको विषयलाई अनावस्यक भन्दै पदीय भागबन्डामै केपी ओलीसँग ‘एग्रिमेन्ट’ गर्दैआएका छन् ।

 

यसबीचमा आहुतीले नयाँ पार्टी खोल्ने सम्मका चर्चा भए । माओवादीभित्रै कसैले ‘खिसिट्यूरी’ गरे । कसैले ब्यंग्य गरे, ‘आहुतीले पार्टी चलाउन सक्दैन’ भनेर ।जे भए पनि आहुतीहरु असन्तुष्ट छन् । जुन असन्तुष्टि नयाँ पार्टी खोल्ने तहको नभए पनि ‘वाम एकता’ का लागि चुनौती त हो ।

 

के हुँदैछ ?

आहुती सहित वाम एकता अभ्यासप्रति असन्तुष्ट रहँदैआएका माओवादी केन्द्रका नेताहरु तत्कालै भने अर्को पार्टी नखोल्ने मनस्थितिमा पुगेका छन् ।चुनावपछि नै पछिल्लो प्रक्रियाप्रति फरक मत राख्दैआएका उनीहरुले तत्काल अर्को पार्टी सञ्चालन नगरेर फरक ढंगबाट अघि बढ्नुपर्ने बताउँदैआएका छन् ।

 

आहुती, बलराम तिमिल्सिना, जागृत रायमाझी लगायत नेताहरुले पार्टी छोड्ने तयारी गरे पनि तत्काल अर्को पार्टी नखोल्ने बुझिएको छ । बरु उनीहरुले भेटघाट र अन्तरक्रियालाई तिब्रता दिएका छन् । आलोचनात्मक बिचार राख्ने र अध्ययनशिल व्यक्तिहरुसँग उनीहरुको भेटघाट बाक्लो हुँदैआएको छ ।

 

यसबीचमा पिताम्वर शर्मा, खगेन्द्र संग्रौला लगायत बुद्धिजीवी तथा लेखकहरुसँग उनीहरुको नियमित भेटघाट हुँदैआएको छ । यस्तै अन्य वाम बुद्धिजीवीहरुसँग पनि उनीहरु नियमित छलफलमा छन् । तत्कालका लागि ‘लूज फोरम’ को रुपमा बौद्धिक र अध्ययनशील युवाहरुको साझा थलोको रुपमा विकास गर्ने भन्दै उनीहरु सक्रिय बनेका हुन् ।

 

युवाको भर

आहुतीको नेतृत्वमा रहेको माओवादीबाट असन्तुष्ट समूहको अर्को आधार हो युवा जमात । राजधानी र बाहिर समेत रहेका अध्ययनशील युवाहरुलाई नै नयाँ फोरमको आधार मान्दैआएका छन् ।

 

ति युवामा कवि, लेखक–साहित्यकार, पत्रकार समेत छन् । राजेन्द्र महर्जन, उज्ज्वल प्रसाईँ, संगीतश्रोता, स्वप्नील स्मृति, केशव सिलवाल, विनोदविक्रम केसी, बन्दना ढकाल, दीपक सापकोटा, कैलाश राई, नरेश ज्ञवाली लगायत नियमित अन्तरक्रियामा छन् ।

 

कस्तो फोरम ?

असन्तुष्ट माओवादी समूहमा माओवादीका ‘कोर क्याडर’ मात्रै छैनन् । ‘लूज एमाले’, स्वतन्त्र लेखक, कवि, ‘डेमोक्रेट्स’ र मधेस केन्द्रित अभियन्ता समेत सामेल छन् ।

 

तर संगठनलाई कसरी अघि बढाउने भन्ने विषयमा ठोस खाका तय भइसकेको छैन । यस अभियानसँग जोडिएकाहरुको बुझाइ के छ भने, नयाँ पार्टीको झण्डा र नाम घोषणा गर्दैमा केही उपलब्धि हुँदैन ।

 

यद्यपि समूहको सक्रिय नेतृत्व गर्नेमा आहुतीकै नाम आउँछ । पछि पार्टी खोल्नु पर्ने अवस्थामा समेत उक्त पार्टीको नेतृत्व आहुतीले नै गर्नसक्छन् भन्ने उनीहरुको सामान्य विश्वास छ । समस्या के भने, बिचार–बिमर्शमा सक्रिय रहँदैआएका आहुती नयाँ पार्टीको अध्यक्ष बन्ने रहर त देखाउँदैछन् तर यही अवस्थामा संगठन हाँक्ने आँट गरेका छैनन् उनले ।

 

त्यसो त, अहिले नै पार्टी खोलेर कार्यालय स्थापना, संगठन बनाउने र फेरि फुट्ने वा ‘रेडिमेड’ नारा र पुरानै ढर्रादेखि यो पंक्ति दिक्क छ । ‘ठ्याक्कै कस्तो फोरम’ बनाउने भन्नेमा एकमत हुन नसके पनि सृजनात्मक ढंगको फोरम बनाउने पहलमा छन् ।

 

चिन्तन महोत्सव

समूहका केही अगुवाहरुको पहलमा १ महिनाअघि चिन्तन महोत्सवको लागि भेला आयोजना भएको थियो । भेलामा बाक्लै उपस्थिति थियो । जहाँ ‘चिन्तन महोत्सव’ बारे ब्यापक चिन्तन र चिन्ता पनि भयो ।

 

बागबाजारको एक हलमा त्यति ठूलो भेला देखेपछि अगुवाहरु उत्साही भए । र चाँडै नै महोत्सव आयोजना गर्ने तयारीमा छन् उनीहरु । सामाजिक, राजनीतिक, आर्थिक, साहित्य लगायत विषयमा गहिरो बहस र चिन्तन गर्ने उद्धेश्यसाथ महोत्सवको तयारी भए पनि अन्ततः पार्टी खोल्नेसम्मको योजना अगुवाहरुसँग छ । प्रगतिशील र वामपन्थी पार्टीहरुले जे गर्नुपर्ने हो नगरेपछि त्यो दायित्व आफ्नो काँधमा आएको भन्दै यी अगुवाहरु तातेका हुन् ।

 

युगको अर्कै योजना

असन्तुष्ट माओवादी पंक्तिमा प्रारम्भिक चरणमा युग पाठक पनि कुनै न कुनै रुपमा जोडिँदैआएका थिए । चिन्तन महोत्सव गर्ने पहलमा उनको महत्वपूर्ण जिम्मेवारी छ । विदेशी पाहुनालाई समायोजन गर्ने दायित्व बोकेका पाठक पछिल्लो समय भने निस्क्रिय देखिएका छन् ।

 

नयाँ फोरमको विकास गर्नेमा त उनको सहमती नै छ, तर माओवादी अध्यक्ष प्रचण्डको सैद्धान्तिक, सांगठनिक दायराभन्दा बाहिर जान तयार देखिएका छैनन् ।

 

यतिसम्म कि, वैज्ञानिक समाजवादी क्रान्ति पनि प्रचण्डले नै गर्न सक्छन् भन्ने उनको बुझाइ यथावत छ । समूहका अन्य अगुवाहरु भने युगडको यस्तो बुझाइप्रति सहमत छैनन् ।

 

‘वाम एकता अभियान’ यता उनीहरुले प्रचण्डलाई टाढा बाट हेर्न थालिसकेका छन् । समूहका अगुवा नै रहेका युग अन्य सबै कुरामा असन्तुष्ट समूहसँग सन्तुष्ट भए पनि प्रचण्डको सवालमा भने मौन देखिन्छन् ।

 

यसकारण पनि असन्तुष्ट समूहले वैज्ञानिक समाजवादी कार्यदिशा कस्तो हुनेछ ? अबको संगठन कस्तो हुनुपर्छ ? नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ? भन्ने जस्ता विषयमा ठोस खाका आइसकेको छैन ।

 

सुरुवात सानै झिल्कोबाट

माओवादी एमालेसँग मिल्ने तयारी गर्नुभन्दा अघिदेखि नै आहुती, संगीतश्रोता, युग पाठक, उज्ज्वल प्रसाईँ, बन्दना ढकाल लगायत नियमित चिन्तनमै थिए ।

 

माओवादीले बाटो बिराउँदैछ भन्ने बुझाइ उनीहरुको त्यसबेला देखि नै थियो । ‘बिचार र चिन्तनको क्षेत्रमा केही गर्नुपर्यो’ भन्दै उनीहरुका हरेक बहस टुंगिन्थे ।त्यही पेरिफेरीमा माओवादी एमालेसँग सामेल हुने भयो । जुन कुरा उनीहरुलाई चित्त बुझेन । त्यसपछि उनीहरु माओवादीबाट उम्किन खोजे ।

 

यसरी सिंगो माओवादी आन्दोलनलाई माया गर्नेहरुको चिन्तन र अन्तरक्रियाबाट सुरु भएको यो अभियान अन्ततः माओवादीका असन्तुष्ट थुप्रै नेता जोडिन आइपुगेका छन् ।

 

लोकेन्द्र बिष्टदेखि गोपाल किराँती पनि यहाँ जोडिए । साथै रमेश सुनुवारसँग पनि केही बहस भइसकेका छन् । स्वतन्त्र माक्र्सवादीको ठूलो हिस्सा यो अभियानसँग कुनै न कुनै रुपमा जोडिएको छ ।

 

विशेष