सभापति देउवासँग युवानेता धनराज गुरुङका केही प्रश्न अझै बाँकी छन् (भिडियोसहित)
कांग्रेसमा कसले रोक्यो धनराज गुरुङलाई सांसद बन्न ?
काठमाडौं । चुनावपछि नेपाली कांग्रेसमा युवा नेताहरुको स्वर बलियो हुन थालेको छ । उनीहरुले नयाँ नेतृत्वको आवस्यकता रहेको भन्दै ‘अर्ली’ महाधिवेशनको माग गर्दैआएका छन् ।
अब नयाँ पुस्ताले नेतृत्व हाँक्ने भन्दै त्यसका लागि युवा नेताहरुले नयाँ दस्तावेज ल्याउने तयारी गरिरहेका छन् ।
रोचक त के भने, युवा नेताहरुको टोलीमै रहेको एक नेता विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले प्रवक्ता बनाएपछि युवा नेताहरुबीच त्यसले तरंग ल्यायो ।
यस विषयमा पनि नेता धनराज गुरुङसँग कुराकानी भएको थियो । ‘कुनै साथीलाई नियुक्ति गरियो भन्दैमा पार्टी सुद्धिकरणको प्रक्रिया रोकिँदैन,’ उनले भने, ‘पार्टीमा जोसुकै नेताहरु पनि पार्टी सुद्धिकरणको यात्रामा जानुपर्छ । अर्को विकल्प छैन ।’
अर्को प्रसंमा ‘सभापतीय प्रणालीको अभ्यास हुँदैछ नी ?’ भन्ने जिज्ञासामा उनले अब त्यस्तो प्रणालीमा फर्किने सम्भावना नभएको उनले बताए ।
नेताहरुलाई सभापतीय प्रणालीको आवाज उठाउने अधिकार भए पनि अबको समयमा त्यो सम्भव नहुने बताए । नेपाली कांग्रेस एकल निर्णय वा एकतन्त्रीय तरिकाले चल्न नसक्ने गुरुङको भनाइ थियो ।
महाअभियोग काण्ड
तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगबारे आफूलाई त्यसभन्दा अघि जानकारी नै नभएको गुरुङले बताए । पार्टी सभापतिले गरेको त्यस्तो निर्णयबारे आफ्नो असन्तुष्टि रहेको भन्दै गुरुङले सभापतिलाई त्यस घटनाको पुष्टि गर्न चुनौती दिएका थिए ।
अन्तरवार्ताको क्रममा गुरुङले आफ्नो सभापतिसमक्ष त्यस्ता अलोकप्रिय निर्णयबारे प्रश्न गरेको बताएका छन् ।
जातीय मुद्धा
जातीय पहिचानको विषयमा गुरुङको फरक मत छ । जातीय अग्राधिकारको बहानामा जातजातिबीच द्धन्द्ध फैलनसक्ने भन्दै जातीय मुद्धा उठाउन आवस्यक नरहेको उनले बताए । जनजाति समुदायका युवाहरु पनि पढेर प्रतिष्पर्धामा उत्रनुपर्ने भन्दै अवसरको सृजना गर्नु नै मूख्य दायित्व भएको उनको तर्क छ ।
‘माथि गएका जातलाई गाली गरेर, धारे हात लगाएर हामी माथि उठ्न सक्दैनौँ भन्ने कुरा बुझाउनु जरुरी छ,’ उनले भने, ‘१६÷१७ वर्ष पुगेपछि छाति र हाइट नापेर भर्ती हुन जाने चलन हाम्रो समुदायमा छ । अहिले पनि पढेलेखेका युवा पनि भर्ती हुनुपर्छ भन्ने सोच्छन् ।’
उनले थपे, ‘निशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गरौँ न, त्यसपछि हाम्रा छोराछोरी पनि क्षेत्री बाहुनका छोराछोरीसँगै प्रतिष्पर्धा गर्छन् नी । त्यसतर्फ ध्यान नै छैन, खाली भर्ती हुन जाने अनी !’
नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भयो
नेपाली कांग्रेसलाई अहिले करिस्मेटिक लिडरशीपको आवस्यकता परेको उनले बताए । पुराना नेताहरुले बिश्राम लिनुपर्ने भन्दै अब नयाँ नेतृत्वमा जानुपर्नेमा उनले जोड दिए ।
‘आफ्नैबाट ठूलै षड्न्त्र भयो’
पछिल्लो प्रदेशसभा र प्रतिनिधिसभा कुनै पनि चुनावमा गुरुङलाई पार्टीले टिकट दिएन । कांग्रेसका कार्यकर्तामाझ उनको विषयलाई लिएर ठूलो बहस पनि भयो । धेरैले उनलाई अन्याय गरियो भनेर आवाज उठाए । गुरुङ आफैँले पनि त्यसलगत्तै दिएको अन्तरवार्तामा आफूलाई अन्याय भएको बताएका थिए ।
नेपालआजसँग यसपटक अन्तरवार्ता दिने क्रममा पनि उनले त्यसलाई दोहोर्याए । ‘तपाईँलाई कसले कसरी षड्यन्त्र गरेको थियो ?’ भनेर सोध्दा गुरुङले भने, ‘माथिबाटै षड्यन्त्र भयो ।’
गुरुङले प्रष्टसँग नभने पनि आफूलाई चुनावमा उठ्न नदिने षड्यन्त्रमा पार्टी सभापतिको समेत हात रहेको शंकेत गरेका थिए । ‘नाम नभनौँ, तर माथिबाटै षड्यन्त्र भयो ।’
स्मरणीय छ, युवा नेता धनराज गुरुङ र कांग्रेस नेता गोपालमान श्रेष्ठ एउटै जिल्ला स्याङ्जाका नेता हुन् । सभापति देउवासँग राम्रो सम्बन्ध भएका गोपालमानले चाहेको खण्डमा धनराज गुरुङले चुनावमा टिकट पाउँथे भन्ने चर्चा कांग्रेस बृत्तमा हुने गरेको छ ।