वाम गठबन्धनको नयाँ सहमति, ‘प्रचण्ड अध्यक्ष, केपी सर्वोच्च नेता’
प्रचण्डलाई 'सेरेमोनियल' अध्यक्ष बनाउने पहल
काठमाडौं । वाम एकता अभ्यासले टुंगो नपाउँदा दुई प्रमुख पार्टी नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच केही अन्योल छाएको छ ।
सार्वजनिक रुपमा वाम एकता अहिलेको निशर्त एजेन्डा भनिए पनि केही आन्तरिक जटिलताले उनीहरुलाई नै जेलेको छ । पार्टी र सरकार क–कसले नेतृत्व गर्ने भन्ने कुराहरुको निक्र्यौल नहुँदा अन्योल छाएको दुबै पार्टीका केन्द्रीय तहका नेताहरु बताउँछन् ।
साथै दोस्रो तहका नेताहरुको व्यवस्थापन पनि वाम एकताको अर्को चुनौती बनेको छ । यद्यपि केही कुराहरुमाथि सामान्यतः मौखिक सहमति जस्तै भइसकेको नेताहरु बताउँछन् ।
केपी ओली र प्रचण्डमध्ये कसलाई कहाँ राख्ने भन्ने कुराले धेरै सातासम्म जलिट रुप लिए पनि उनीहरुको पदीय व्यवस्थापन खासै समस्या नरहेको बुझिएको छ ।
एमालेका केही पोलिटब्यूरो सदस्यहरुले बताए अनुसार केपी र प्रचण्डको पदीय व्यवस्थापन लगभग टुंगिएको छ । बरु दोस्रो तहका नेताहरुको व्यवस्थापन नै प्रमुख समस्या भएको बताइन्छ ।
केपी ओली र प्रचण्डका पछिल्ला भेटवार्ताअनुसार केपी ओलीलाई नयाँ एकीकृत पार्टीको ‘सर्वोच्च नेता’ कोरुपमा अलग्गै पद सृजना गर्ने र प्रचण्डलाई अध्यक्ष बनाउने सहमति भएको बुझिएको छ ।
अध्यक्षको रुपमा भए पनि प्रचण्डलाई केही कार्यकारी अधिकारबाट वञ्चित गर्ने पहल एमालेका उच्चस्तरीय नेताहरुबाट हुँदैआएको छ । प्रचण्ड भने ओलीलाई सवोच्च नेताको रुपमा स्विकार गर्ने तर आफू पूर्ण अधिकार सहितको कार्यकारी अध्यक्ष नै रहने अभ्यासमा छन् ।