बाग्लुङकी बूढी आमाले किन अंगालो हालिन् गायक गुणराजलाई ? (भिडियोसहित)
कसरी मिल्यो गीत र गायकको एउटै कथा ?
काठमाडौं । गीत सुनेरै आत्महत्या ? यस्तो घटना इतिहासमा कमै हुन्छन् । ‘ग्लूमी सन्डे’ बोलको गीतले अहिलेसम्म पनि मृत्य हुने गरेको विभिन्न समाचार आउँछन् । नेपालमा पनि यस्ता केही घटना भए । तर ‘ग्लूमी सन्डे’ सुनेर हैन । नेपाली गीतबाटै ।
स्वरुपराज आचार्यले गाएको ‘धेरै माया दिँदा रैछन्’ बोलको गीत सुनेर केही आत्महत्या भएका समाचार आएका थिए । पछिल्लो पटक गायक गुणराज श्रेष्ठको ‘निष्ठुरीले मान्दै मानेन’ बोलको गीत सुनेर इलाममा त्यस्तै घटना भयो ।
सोही गीतबाट गायनमा यस वर्षको सर्वोत्कृष्ट नवप्रतिभामा बिन्ध्यबासिनी म्युजिक अवार्ड पाएका गुणराजलाई यो घटनाले भने खल्लो बनाउँछ । आखिर आत्महत्या नै निम्त्याउने गरी गीतमा त्यस्तो के थियो ?
गुणराज भन्छन्, ‘त्यो गीतको शब्द संगीत नै त्यस्तै छ । मनछुने किसिमको । मेरो जीवनमा पनि त्यस्तै दुखद् घटना भयो । जसले मेरो भावनालाई छोएको छ । त्यसकारण त्यो गीतमा मेरो आफ्नो भावना पनि जोडिएको छ ।’
गीतले गुणराजलाई नसोचेकै सफलता दियो । यसरी गायनमा सफल बन्न उनको एउटै मन्त्र छ, ‘गीत गाउँदा आत्मदेखि नै गाउने ।’ गीतको शब्द र भावना पनि जोडिएपछि आत्मैबाट गीत गाउँदा सुनमा सुगन्ध हुन्छ भन्ने कुरामा उनको विश्वास छ ।
उनी गायनको क्षेत्रमा लागेको दुई वर्ष भयो । यो अन्तरालमा उनले ‘फ्यानफलोइङ’ पनि राम्रै पाएका छन् । पछिल्लो समय विभिन्न स्टेजमा ब्यस्त हुन्छन् उनी । उनको गीतको राम्रो प्रशसा हुन्छ । त्यसैले त अचेल गुणराज व्यवसायीक रुपमा गायनमा जमेका छन् ।
स्टेज पर्फमेन्सकै क्रममा केही रोचक र भावुक अवस्था पनि झेलेछन् उनले । बागलुङको एक स्टेज पर्फमेन्सको याद कहिल्यै हराउँदैन रे । एकजना बूढी आमा, जो उनको गीत सुनेर हुरुक्कै भइन् ।
‘एकपटक स्टेज शोमा गीत गाइसकेपछि ती आमाले आफ्नै छोरा जसरी अंकमाल गर्नुभयो । आफ्नै आमाले अंकमाल गरेजस्तो लागेको थियो मलाई । त्यो क्षण कहिल्यै बिर्सिन्न ।’ उनले सुनाए ।
प्रारम्भिक चरणमा कार्यक्रमहरुमा डान्स गर्ने गुणराज पछिल्लो समय गायनमा उकालो यात्रामा छन् । आफ्ना गीतमा मोडलिङ पनि आफैँ गर्छन् उनी । पछिल्लो गीत ‘निष्ठुरीले मान्दै मानिन’ को म्युजिक भिडियोमा पनि उनी आफैँले अभिनय गरेका छन् ।
गुणराज यसकारण पनि खुसी छन् कि आफ्नो गीतको प्रशंसा झन बढ्दो रुपमा हुँदैछ । भलै आत्महत्याको घटनाले उनलाई दुखी त बनायो । तर केहीले भने यसलाई उनको गीतको प्रभाव र शक्तिको रुपमा पनि ब्याख्या गर्छन् ।