राजनीति

संविधान संशोधनका लागि तयार छौं : पोखरेल

संविधान संशोधनका लागि तयार छौं : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेसी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघले शनिबार राजधानीमा स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाइ दिन आयोजित कार्यक्रमपछि सन्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेसी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पस्ट गरे ।

एमालेले प्रदेश नम्बर–२ मा मधेसी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्नसक्ने उनले बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ ।

‘हामीलाई जुन प्रकारले मधेसविरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो । हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौं’–महासचिव पोखरेलले भने–‘औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सधैं खुल्ला रहन्छ ।’

अर्को प्रश्नमा उनले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढेपनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताए ।

उनले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कायैविभाजन हुने जनाए ।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनमा तालमेल र प्रदेशसभा गठनका विषयमा कार्यदलले काम गरिरहेको र अब बस्ने एकता संयोजन समितिले वैचारिक र संगठन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गर्ने स्पस्ट गरे ।

यसैगरी, एमालेका सचिव भीम आचार्यले शनिबार एक बेग्लै पत्रकार भेटघाट गरी प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा आफ्नो उम्मेदवारी हुने जनाउ दिएका छन् ।

उनले निर्वाचनको टिकट वितरणमा जोडेर आफूलाई लाञ्छित गरिएपनि त्यसमा सत्यता नभएको दाबी गरे । सो प्रदेशको मुख्यमन्त्रीमा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राईको पनि दाबी छ ।

Ishwor Pokharel

विशेष