राजनीति

कोमल वलीसँग अन्तरवार्ताः राष्ट्रियसभाको गरिमा नबुझेर गरेको हल्काफुल्का कुरालाई विरोध भन्न मिल्दैन

‘अब त पोइल जान पाम्’ गाउन पाइँदैन नी !’ सोध्दा वलीको यस्तो जवाफ...

कोमल वलीसँग अन्तरवार्ताः राष्ट्रियसभाको गरिमा नबुझेर गरेको हल्काफुल्का कुरालाई विरोध भन्न मिल्दैन

 

काठमाडौं । गायिका कोमल वली नेकपा एमालेको राष्ट्रियसभा सदस्य बन्ने भएपछि यस पार्टीका केही कार्यकर्ताहरुले पार्टी निर्णयको आलोचना गरे ।

 

केही कार्यकर्ताले वलीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएकोप्रति सामाजिक संजालमा विरोध जनाए । एमालेमा अरु थुप्रै पुराना नेत्रीले अवसर नपाएको भन्दै ‘नवआगन्तुक’ लाई अवसर दिन नहुने भन्दै उनको आलोचना भएको हो ।

 

यद्यपि केहीले भने ‘कोमल वलीलाई पार्टी प्रवेश गराउँदा ताली बजाउने अहिले विरोध गर्ने ?’ भनेर पार्टी निर्णयको बचाउ पनि गरे । त्यसो त, राष्ट्रियसभा सदस्यको रुपमा पार्टीको जिम्मेवार नेतालाई मात्रै सिफारिस गर्नुपर्ने प्रावधान पनि छैन ।

 

यही विषयमा नेपालआजले कोमल वलीसँग संक्षेपमा टेलिफोन अन्तरवार्ता गरेको थियो । दाङमै रहेकी वलीसँग नेपालआजले केही जिज्ञासा राख्दा सबै प्रश्नको जवाफ भने उनले दिन तयार भइनन् । यद्यपि केही प्रश्नमा खुलेर बोलिन् ।

 

 

प्रश्नः पार्टीमा तपाईँको सिफारिसको विषयलाई लिएर केही नेता तथा कार्यकर्ताले विभिन्न हिसावले विरोध जनाएका छन् । कसरी हेर्नुभएको छ ?

जवाफ : मलाई त नेताहरुको विरोध भए जस्तो लाग्दैन । मेरो नाम दाङबाट पार्टीले सिफारिस गरेको हो । त्यसपछि स्थायी समितिले निर्णय गरेको हो । यो प्रक्रिया पार्टीको विधि विधान भित्रै छ । यसमा नेताहरुले विरोध गर्ने कुरै छैन । मैले त विरोध भएको सुनेकै छैन त ।

 

विरोध भएको भए मेरो उम्मेदवारी विरुद्ध अरु पार्टीले उम्मेदवार उठाउने थिए, म निर्विरोध निर्वाचित हुने थिइनँ । अब केही व्यक्तिले जोकजस्तो ठानेर राष्ट्रियसभाको गरिमा बुझेनन् होला र हल्काफुल्का कुरा गरे होलान् । त्यस्तो हल्काफुल्का कुरालाई विरोध भन्न मिल्दैन ।

 

प्रश्न : एमालेकै कार्यकर्ताले सामाजिक संजालमा तपाईँको फोटो नै राखेर व्यंग्य समेत गरेका छन् नी ?

जवाफ : केही व्यक्तिहरुले आलोचनात्मक टिप्पणी गर्नुभएको छ । त्यसलाई मैले सकारात्मक रुपमा लिएकी छु ।

 

प्रश्न : वामपन्थी पार्टीको राष्ट्रियसभा सांसद भएपछि त ‘झ्वाँक तन्नेरी’, ‘पोइल जान पाम्’ जस्ता गीत गाउन पाईँदैन त ! के गर्नुहुन्छ ?

जवाफ : मलाई सबै क्षेत्रको गरिमा थाहा छ । गीतसंगीत मेरो जीवन हो । साधना हो । मेरा सबै गीतहरु नारी सशक्तिकरणमा आधारित छन् । म यसमा धेरै बहस गर्न चाहन्न ।

 

 

विशेष