राजनीति भिडियो

मानवअधिकार आयोगका पूर्वसदस्य डा. रोकायाको सनशनीपूर्ण दाबीः नेपालमा महिलाअधिकार नै चाहिँदैन (भिडियो)

'तानाशाह नै चाहिन्छ अब'

मानवअधिकार आयोगका पूर्वसदस्य डा. रोकायाको सनशनीपूर्ण दाबीः नेपालमा महिलाअधिकार नै चाहिँदैन (भिडियो)

काठमाडौं । ‘नेपालको राष्ट्रिय पहिचान के हो ?’ ‘यसका आधार के हुनसक्छन् ?’ यस विषयमा धेरै बहस र विवादास्पद अभिव्यक्ति पनि आउँदैछन् ।

 

यस विषयमा धार्मिक अभियन्ता समेत रहेका बुद्धिजीवी तथा मानवअधिकार आयोगका पूर्व सदस्य डा. केबी रोकायाको आफ्नै मत छ । राष्ट्रिय पहिचानले नै देशलाई बलियो बनाउने भन्दै ‘थ्रि पिलर थ्योरी’ अघि सार्दैछन् डा. रोकाया ।

 

उनका अनुसार ‘थ्रि पिलर थ्योरी’ अर्थात् शाहवंशीय राजसंस्था, नेपाली सेना र हिन्दुधर्म नै नेपालको राष्ट्रिय पहिचानका आधार हुनसक्छन् । तत्कालकाल लागि गणतन्त्रवादी दलहरुले यसलाई अस्विकार गरे पनि अन्ततः यही सिद्धान्त सही सावित हुने उनको जिकिर छ ।

 

‘यदी तपाईँलाई नेपाल भन्ने देश चाहिन्छ भने यसका लागि खास आधार त चाहियो,’, उनले भने, ‘ती तीन आधारले नै नेपालको राष्ट्रियता जोगाउनसक्छन् । अन्यथा देश भन्ने नै नरहन सक्छ ।’

 

बाह्य शक्तिको प्रभाव

डा. रोकाया भन्छन्, ‘हामीले आफैँले अनुभुत गरेर हाम्रा मान्यता र विश्वास बनाउनुपर्ने थियो । जो भएन । जे पनि बाहिरी शक्तिको प्रभावबाट तय भएका छन् ।’

 

संघीयता, मानवअधिकार, प्रजातन्त्र जस्ता मुद्धा पनि बाहिरी शक्तिराष्ट्रको प्रभावमा परेर नेपालमा लागू गरिएको कुरा प्रति असन्तुष्ट छन् उनी । ति मुद्धालाई नेपालमा लाद्ध्ने काम गरियो भन्दै त्यस्तो प्रबृत्तिको विरोध गर्छन् डा. रोकाया ।

 

‘हाम्रोमा कहाँ थियो महिला अधिकार हनन् ?’, रोकाया सोध्छन्, ‘मानवअधिकार, प्रजातन्त्र पनि हामी आफैँले अनुभुत गरेर बनाएनौँ । विदेशीले नै लाद्ध्ने अवस्था भयो ।’

 

हरेक कुरामा हामीले हाम्रा मौलिक कुरा त्यागेको भन्दै पश्चिमी एजेन्डामा नेपाल हिँडिरहेको उनको तर्क छ । आफ्ना सबै कुरा नराम्रा र बाहिरका सबै राम्रा भन्ने मान्यता स्थापित भएको उनले बताए । आफू पनि धेरै वर्ष त्यस्ता कुराबाट प्रभावित भएको तर पछिल्लो समय ‘रियलाईज’ गरेको उनको भनाइ छ ।

 

छाडातन्त्र

धर्मनिरपेक्षता नै छाडातन्त्रको मूल जरो ठान्छन् उनी । युरोप नै छाडातन्त्रको मुहान भएको बताउँदै त्यसको नक्कल गर्न नहुने उनको तर्क छ । पश्चिमा छाडातन्त्र पछ्याउँदै जीवनशैली त्यही अनुरुप भएकोमा उनको चिन्ता छ ।

 

पश्चिमाहरु पहिले नै शक्तिशाली भएकोले नेपाल जस्ता विकाशोन्मुख मुलुहरुले उनीहरुकै मुल्य मान्यता स्थापित गर्दैआएको उनले बताए । ‘संसार यदी पूर्वीय दर्शनको आधारमा चलेको भए कुनै पनि विश्वयुद्ध हुँदैनथे,’ उनले भने, ‘युरोपका मुलुकहरुले धर्म त्यागेर हिंसाको बाटो लागे । हामी पनि त्यही बाटो जाँदैछौँ । यो गलत हो । समाज कहाँ पुग्यो ?’

 

यसबाहेक नेपालमा महिला हिंसा नरहेको पनि उनको जिकिर छ । तर विदेशीहरुले नै लादेर अधिकारका मुद्धा उठाएको उनको भनाइ छ । यस्ता जटिलताका बीच नेपालले आफ्नो मौलिक पहिचान बनाउनुपर्ने डा. रोकायाले बताए ।

 

विशेष