सरकार गठन अघि नै पार्टी एकताः अध्यक्ष प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अगाडि नै नेकपा ९एमाले० र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी एकताका विषयमा दुई पार्टीका बीचमा सकारात्मक ढंगले छलफल अगाडि बढिरहेको बताए ।
अध्यक्ष दाहालले भने, ‘सकेसम्म सरकार गठनभन्दा पहिला नै पार्टी एकता टुंग्याउँ भन्ने हाम्रो जोड छ ।’ अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने भन्दै पार्टी एकताका लागि सरकार गठन पर्खिन आवश्यक नरहेको बताए ।
पार्टी एकताका विषयमा अनावश्यक कुरा आइरहेको भन्दै उनले जथाभावी बाहिर र पत्रपत्रिकामा नबोल्न तल्लो तहका नेतालाई निर्देशन दिएको पनि बताए ।
उनले दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा विमति र विवादको अवस्था नरहेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले भने, ‘अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन, सुशासन र देशको समृद्धिमा, राष्ट्रिय एकतामा हाम्रो ध्यान केन्द्रीत छ ।’
दलहरुका बीचमा आज काठमाडौँमा सकारात्मक छलफल भएको भन्दै उनले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताए । प्रदेश केन्द्रको अन्तिम फैसला गर्ने अधिकार प्रदेशसभालाई भएको पनि उनले स्पष्ट पारे ।
अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनको प्रक्रियाको निम्ति कुनै अवरोध नभएको भन्दै राष्ट्रियसभाको गठनलगत्तै सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने बताए ।