राजनीति मुख्य समाचार

अब राजा र निरंकुशतालार्इ दोष लगाउने ठाउँ छैन - दाहाल

अब राजा र निरंकुशतालार्इ दोष लगाउने ठाउँ छैन - दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म राजा र निरंकुशतालाई दोष दिएको भन्दै अब दोष लगाउने कुनै ठाउँ नभएको बताएका छन्।

'नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन त्यसको सबैभन्दा ठूलो दोषी तपार्इं हामी नै हुने स्थिति आउँछ,' उनले भने, 'यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्छ।'

चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नैपर्ने देश बनाउनुपर्नेमा जोड दिए। नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने उनको भनाइ थियो।

राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए। 'हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ,' उनले भने, 'त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ।'

त्रिदेशीय साझेदारीले अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै उनले थपे, 'सबैले एकचोटि संकल्प गरेर अब पाँच वर्षभित्र नेपाली जनतालाई नयाँ युग आएको भनेर अनुभूति गराउनुपर्छ।'

देशको मध्यभागमा रहेकाले चितवनलाई आर्थिक ‘हब’ बनाउन सकिने सम्भावना रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो।

विशेष