'नेतृत्वको गल्तीमा साक्षी बसिरहने कि राजीनामा दिने ?'
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्वप्रति खनिएका छन्। उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइरालासहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
दोस्रो तहका नेता नवीन्द्रराज जोशीको अगुवाइमा शुक्रबार भएको भेलामा दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, गुरु घिमिरे, गोविन्द भट्टराई, बद्री पाण्डे, कल्याण गुरुङ, जीवन परियार, किरण यादव, रत्ना शेरचन, धनराज गुरुङ, सरीता प्रसाईं, हृदयराम थानीलगायतले नेताहरूलाई गुनासो सुनाए।
नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा रामशरण महत, महेश आचार्य, दीपक गिरी, दिलेन्द्र बडू भेलामा उपस्थित थिए। नक्सालको वन्जला रेस्टुरेन्टमा भएको भेलामा दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वले गरेको गल्तीमा आफ्नो पक्षका नेताहरू साक्षी बसेकोप्रति पनि असन्तुष्टि जनाए।
‘चुनावमा समानुपातिक र प्रत्यक्ष उम्मेदवारका विषयमा भएका आर्थिक चलखेल, राजनीतिक कारणले नेताहरूको छवि जनता र कार्यकर्ता पंक्तिमा बिग्रेको छ । यसमा यो गुट त्यो गुट भन्ने नै छैन भन्नेबारेमा हामीले गम्भीर कुरा उठायौँ,’ छलफलमा सहभागी एक नेताले भने, ‘यसलाई सुधार गर्ने हो भने हामी तपाईंहरूलाई साथ दिन्छौँ । सुधार्नुभएन भने कार्यकर्ता र जनताले साथ दिँदैनन् । सभापतिसँगै बसेर कार्यसम्पादन समिति र संसदीय बोर्डमा बसेर गलत निर्णय गर्नुभएका तपाईंहरूले पहिलो राजीनामा दिनुस्। अनि तपाईंहरूले पनि विरोध गर्न सुहाउँछ भनेका छौँ।’