राजनीति

मन्त्री ताक्दै एमालेका यी बद्नामहरु

मन्त्री ताक्दै एमालेका यी बद्नामहरु


काठमाडौं । एमालेको नेतृत्वमा २०४६ को परिवर्तनदेखि २०६२ ०६३ को गणतन्त्र प्राप्तीका लागि लडेकाहरुको बाहुल्यता छ । तर चुनावी राजनीतिमा जस्तासुकै प्रवृत्तिलाई पनि पार्टीमा ल्याउने र टिकट दिने गर्दा एमालेमा निरंकुश राजाको भक्तिगान गाउने र टीके जिविस सभापति र नगरपालिका प्रमुख हुनेहरुको यो पटकको प्रतिनिधिसभा र प्रदेशसभामा बिजयी भएर आएका छन् । र, मन्त्रीमा दाबी गर्न थालिसकेका छन् ।

राजाको शासनका समर्थकदेखि विभिन्न काण्ड लागेकाहरुले मन्त्रीमा दाबी गर्न थालेपछि जनतासमक्ष ब्यक्त गरेको सुशासनको प्रतिबद्धता कसरी पूरा हुन्छ ? यस्ता प्रवृत्तिको बाहुल्य पार्टीमा बढेपछि यो प्रश्न एमालेमा उठ्न थालेको छ । एमालेमा शुद्धिकरणका लागि पनि यस्ता प्रवृत्तिलाई मन्त्रीमा अवसर दिन नहुने पक्षमा भित्रभित्रै बहस हुन थालेको छ ।

तस्करी र गुण्डागर्दीदेखि विभिन्न काण्डमा मुछिएकाहरु पनि एमालेमा जितेर आएका छन् । डोल्पाको विकास निमार्णका काममा दादागिरी देखाएर ठेक्का लिनेदेखि यार्सागुम्बाको अपारदर्शी कारोबार गर्ने, लुट्नेमा समेत मुछिएका धनबहादुर बुढाकै कारण एमालेको लागि संकटमा साथ दिएका अंगद बुढा पार्टी नै त्याग्न बाध्य भए ।

हिजो पार्टीका नेताहरुलाई राजाले थुन्दा अंगद बुढाले डोल्पामा एमालेका झन्डा बोके तर अवसर पाउने बेलामा तिनै राजाका बफादार धनबहादुर बुढाले पाउने मत्स्यन्याय पार्टीमा लागु हुन पुग्यो र जसका कारण अंगद बुढाहरुको मुटु छियाछिया भएर पार्टी छाड्न पुगे । डोल्पाको एमालेको बहुमत जिल्ला कमिटि नै किनेर २०७० मा एमालेका एक केन्द्रिय पदाधिकारीलाई प्रभावमा पारी टिकट लिएका धनबहादुर बुढा यसपटक पनि जितेर आएका छन् । दुई पटक जितेपछि उनले मन्त्रीमा दाबी गर्न थालिसकेका छन् ।

२०६१ मा राजाको कदमको स्वागत गर्नेमा बुढा अग्रपंत्तिमा पर्दछन् । त्यतिबेलाका राजावादी पत्रिकाहरुमा उनले राजाको कदमको अति चाकडीको भाषामा स्वागत गरेर टीके जिविस सभापति खाएका थिए । एमालेमा पनि उनी मन्त्री दाबी गर्न थालिसकेका छन् । २०६१ माघ १९ को स्वागत गर्ने दैलेखका रविन्द्रराज शर्मा पनि यो पटक प्रतिनिधिसभामा जितेर आएका छन् । शर्मा राजाको कदमपछि प्रेमबहादुर सिंहको समाजवादी जनता दलमा प्रवेश गरेर नगरपालिकाको चुनावमा सक्रियतापूर्वक लागेको दैलेखबासी बीचमा अहिले पनि चर्चाको बिषय बन्ने गरेको छ । उनले नगरपालिकाको चुनावमा नारायण नगरपालिकाको आफ्नो घरको छतमा बसेर प्रहरी र सेनालाई हातले इशारा गरेर जनआन्दोलनकारी देखाउदै पक्राउ गर्न लगाएका थिए । उनले दैलेख १ बाट चुनाव जितेर आएका छन् । उनी पनि ६ नम्बर प्रदेशबाट मन्त्रीको दाबी गर्दै नेताको घर घर धाइरहेका छन् । शर्मा नैतिक रुपमा पनि राम्रो नभएका भनेर चिनिन्छन् । दैलेखकी एक एकल महिलासंगको उनको अनैतिक सम्बन्धका कारण पनि उनी बदनाम भएका थिए । ती महिलाका छोराले नै शर्मालाई रामधुलाई गरेपछि उनी बाध्यताबस खुम्चिन पुगेका थिए ।

प्रत्यक्षमात्र होइन, समानुपातिक सूचीतर्फ पुरुष कोटामा पिछडिएको क्षेत्रबाट राखिएका मोहन बानिया पनि एमालेका एक खराब पात्रका रुपमा चिनिन्छन् । मुगुका बानियाले धेरै मानिसको पैसा विभिन्न काम गर्ने बहानामा लिएर नतिरेको भन्दै कयौं उजुरी पार्टी केन्द्रिय कार्यालयमा पनि परेका छन् । खास आर्य पार्टीबाट बागी उम्मेदवारी दिन्छु भनेर धम्की दिएपछि पार्टीका उमेदवार पराजित हुनसक्ने देखेर उनलाई पार्टीले समानुपातिकमा राखेको थियो । तर उनको नाम राख्दा सुरुमै राखेकाले पिछडिएको क्षेत्रबाट उनी ५ हजारदेखि ५ लाख १० लाख रुपैयासम्म ठगी गरेका उजुरी पार्टीमा परेको स्रोत बताउछ । यिनले सांसद भएपछि भोली पिछडिएको क्षेत्रबाट मन्त्रीमा समेत दाबी गर्नेछन् । –साँघु साप्ताहिकबाट

विशेष