प्रधानन्यायाधीशविरुद्ध रवीन्द्र मिश्र, बाबुराम भट्टराई र गगन थापाको आक्रोश (भिडियोसहित)
नेत्र पौडेल/चन्द्र राई
काठमाडौं । सहज स्वास्थ्य सेवाको लागि संघर्षरत अभियान्ता डा. गोविन्द केसीलाई सरकारले प्रक्राउ गरेपछि थुप्रै युवा तथा राजनीतिक दलका नेताहरु विरोधमा उत्रिएका छन् ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापा, धनराज गुरुङ, विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र लगायत मंगलबार विहानदेखि केसीको समर्थनमा सडकमा उत्रिए ।
उनीहरु सरकारको यस्तो कदमप्रति आपत्ति जनाउँदै आक्रोशित भएका छन् । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले माइतीघर मण्डलामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै डा. केसीलाई न्यायालयको आदेशमा प्रहरीले पक्राउ गरेकोमा आपत्ती जनाए । डा. केसीलाई गिरफ्तार गर्ने अधिकार सरकारसँग नभएको उनले बताए ।
व्यक्तिगत स्वार्थ नलिएरै आफ्नो ज्यान दिन तयार केसीलाई रातारात प्रक्रियाविना नै गिरफ्तार गर्ने सरकारको शैली लज्जास्पद भएको उनको भनाइ छ । साथै मिश्रले डा. केसीलाई जतिसक्दो छिटो रिहा गर्न सरकार समक्ष माग गर्दै उनले लगाएका आरोपमाथि तुरुन्तै छानविन हुनुपर्ने बताए ।
‘उहाँको माग तीन करोड नेपालीको स्वास्थ्यसँग सम्बन्धित छ । अभिव्यक्तिमा केही आक्रोश मिसिएकै कारण केसीलाई गिरफ्तार गर्न मिल्दैन,’ मिश्रले भने ।
यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले केसीलाई गलत तरिकाले पक्राउ गरेको भन्दै त्यसको विरोध गरेका छन् । अदालतलाई सम्मान गर्ने मनसाय हुँदाहँुदै सरकारले हतारमा केसीलाई गिरफ्तार गरेको प्रति उनको असन्तुष्टि छ । डा. केसीले अनशन बसेर आफूले आफैँलाई दण्डित गरिरहेको अवस्थामा न्यायालयले थप दण्ड दिन आवश्यक नरहेको उनको भनाइ थियो ।
कोणसभालाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका नेता गगन थापाले पनि डा. केसीको पक्राउ गलत प्रक्रियाबाट भएको भन्दै विरोध जनाए । थापाले आक्रोशित हुँदै बरु आफूलाई पनि गिरफ्तार गर्न प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई चुनैती दिएका छन् । राजाका पालामा जनताले न्यायालयप्रति पूर्ण विश्वास गर्ने गरेको स्मरण गराउँदै लोकतन्त्र आएपछि न्यायालयप्रति विश्वास उडेको थापाको गुनासो थियो ।
२०६२–०६३ सालको जनआन्दोलनका बेला आफूलाई गिरफ्तार गरेको शैलीमा अहिले डा. केसीलाई गिरफ्तार गरेको थापाले बताएका थिए ।
‘डा. केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लाग्छ । हामीलाई पनि पक्राउ गरियोस् श्रीमान्,’ थापाले भने, ‘श्रीमान्, यो विषय सिंगो देशसँग जोडिएको विषय हो । मुहान सफा भयो भने मात्रै भंगालोलाई सफा गर्न सकिन्छ । यो क्षेत्र पवित्र र सफा हुन आवश्यक छ भनेर केसीले उठाएका मुद्दा प्रत्येक नेपालीका मुद्दा हुन् ।’