आयो ईश्वर पोखरेलको बमरूपी फेसबुक स्टाटस

काठमाडौं । नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेता वामदेव गौतमलाई काठमाडौं–७ बाट चुनाव लडाउने प्रस्तावको प्रत्यक्ष रूपमा विरोध गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको बैठकमा ठाडो गौतमको चुनाव लड्ने र सांसद रामवीर मानन्धरको संकल्पपत्रसहित जानकारीमूलक प्रस्ताव बैठकमा प्रस्तुत गर्न नमिल्ने भनी कडा आपत्ति जनाएका पोखरेलले बुधबार पुनः फेसबुकमा असन्तोषपूर्ण स्टाट्स लेखेका छन् ।
उनको स्टाट्सलाई राम्ररी राजनीतिक रूपमा विश्लेषण गर्ने हो भने नेकपाभित्र हुर्कंदै गएको प्रचण्ड–वामदेव गठजोडविरुद्ध परम लक्षित मान्न सकिन्छ ।
नेता पोखरेलले कसैको नाम नै नलिइकन प्रचण्ड र वामदेवको भूतकालीन राजनीतिक गतिविधिको धज्जी उडाएका छन् । नेता पोखरेलको रणनीतिक चालले नेकपाभित्र कस्तो परिस्थिति सिर्जना गर्ने हो सो भने हेर्न बाँकी नै तर अहिले नेता पोखरेको फेसबुक स्टाट्सले बजार गर्माएको छ ।
हेरौं उनले लेखेका स्टाटसको विवरण : ‘हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक् प्रयत्नका साथ हामीले कम्युनिस्ट पार्टी बनायौँ र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौँ । मौलिकतामा आधारित सुसंगत विचारका शृंखला विकास गर्यौँ, सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौँ, यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति–विसंगतिका विरुद्धमा जुध्यौँ र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौँ, बढिरह्यौँ। हामी एकता र एकताबद्ध हुने कुराको पक्षमा उभिइरह्यौँ, फुट, विभाजनका विरुद्धमा चट्टानी ढंगले खडा भयौँ र पराजित गर्यौँ, यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौँ। हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौँ, रहन चाहेनौँ, देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौँ, हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौंँ, बाँच्न चाह्यौँ, जनताले नरुचाएका वा जनतालाई हानी पुर्याउने कुनै रुमानी ‘संघर्ष’ मा रमाएनौँ, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौँ, हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकांक्षा कहिले पनि झांगिन पाएन, फल्न–फूल्न पाएन। यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौँ। राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौँ।’
नेता पोखरेलको यो फेसबुक स्टाट्स बुधबार बस्ने नेकपाको सचिवालय बैठक स्थगित गरिएपछि झनै चर्चामा आएको छ ।