वामदेवलाई हार्ने गरी चुनाव नलडाइने : प्रचण्ड
काठमाडौं । नेकपाका सहअध्यक्ष प्रचण्डले वामदेव गौतमलाई हार्ने गरी उपनिर्वाचनमा नलडाइने बताएका छन् ।
पाथीभरा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा प्रचण्डले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाका सम्बन्धमा हाल पार्टी कुनै निर्णय भइनसकेको उल्लेख गर्दै आफूहरु उक्त स्थान गुमाउने गरी निर्वाचनमा नजाने बताए ।
उनले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको पनि बताए ।
उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिए। सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको स्पष्ट पारे ।
उनले भने, ‘आज बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको र जनभावनानुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको छ ।’
प्रचण्ड