मुख्य समाचार समाज

बलात्कारबारे गलत स्वास्थ्य रिपोर्ट दिने दुई डाक्टर निलम्बित

बलात्कारबारे गलत  स्वास्थ्य रिपोर्ट दिने दुई डाक्टर निलम्बित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १२ वर्षीया बालिका बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरको लाइसेन्स निलम्बन गरेको छ।

 

काउन्सिलले डा. रम्भा गोइत र डा. विजयकुमार सिंहले न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै अर्को निर्णय नभएसम्मका लागि निजहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट बञ्चित गराउने निर्णय गरेको काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए।

 

उनका अनुसार काउन्सिलले गठन गरेको छानबिन समितिले बयानका लागि बोलाउँदा अटेर गर्ने सिराहा जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिई प्रष्टिकरणका लागि बोलाउने निर्णयसमेत गरेको छ।

 

महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको थियो। समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिवलगायत सदस्य छन्। 

 

समितिको प्रतिवेदनमा गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको उल्लेख छ। त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

 

स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए। त्यसपछि बालिकाका परिवारले पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सरकारी वकिलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणमा सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ।

 

महान्यायाधिवक्ताको अध्यक्षतामा रहेको समन्वय समितिले समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डा. सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गर्दै कारवाही सिफारिस गरेको हो।

नेपाल मेडिकल काउन्सिल दुई डाक्टरको लाइसेन्स निलम्बन

विशेष