मुख्य समाचार समाज

प्रहरीको अभियुक्त पत्ता लगाउने काम पर्याप्त छैन : प्रधानमन्त्री ओली

प्रहरीको अभियुक्त पत्ता लगाउने काम पर्याप्त छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताएका छन् । 

 

प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा काठमाडौंमा  आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

 
उनले भने, ‘राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको छ । सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिका प्रशंसायोग्य छ ।’

 
स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

 

प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने बताए । ‘तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाए पनि एउटा संवेदनशील मुद्दामा तपाईंहरु यदि असफल हुनुभयो भने यसले पु¥याउने चोटलाई सजिलै भरपूर गर्न सकिँदैन’, उनले भने । 


मुलुक सङ्घीयतामा गएसँगै प्रहरी सङ्गठनलाई पनि सङ्घीय ढाँचाको रुपान्तरणमा लैजानका लागि आवश्यक सङ्घीय प्रहरी ऐन निर्माणमा नेपाल सरकार लागिरहेको प्रधानमन्त्री ओलीले बताए । 


६३ औँ प्रहरी दिवसका अवसरमा  ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी सङ्गठनलाई अलग राख्न सके मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताए । 

 

सो अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए । 

प्रधानमन्त्री ओली

विशेष