नौ बजेपछि लुकीलुकी रक्सी बेच्नु भएन : मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकको विकास निर्माणका लागि कर कम लगाउँदै करको दायरा फराकिलो पार्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
फास्ट फुड एसोसिएसनद्वारा बडा दसैँ, दीपपावली, छठ तथा नेपाल सम्बत् ११३९ को अवसरमा राजधानीमा बिहीबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा मन्त्री पण्डितले फास्ट फुड व्यवसायीले खानाको गुणस्तर, ग्राहकको विश्वास जितेर आफ्नो व्यवसाय बिस्तार गर्नुपर्ने बताए ।
फास्ट फुड व्यवसायीले कानुनबमोजिम आफ्नो व्यवसाय सञ्चालन गर्दा पनि प्रहरी प्रशासनले दुःख दिने गरेको गुनासोप्रति मन्त्री पण्डितले भने, ‘कानुनले तोकिएको समयसम्म व्यापार गर्नु भनेपछि त्यहीअनुरूप गर्नुप¥यो, नौ बजेसम्म मात्र रक्सी बेच भनेपछि नौ बजेसम्म मात्र बेच्नु प¥यो, त्यसपछि लुकीछिपी बेच्नु भएन । कम गुणस्तरको खानाबाट कोही रोगी भएर अस्पताल जानु परेमा वा सडेगलेका, डेट एक्पाएर वस्तु बेचेमा त्यसमा छुट हुने छैन । जहाँसम्म प्रहरी प्रशासनले दुःख दिएको कुरा छ, नियमले नौ बजेसम्म खोल्नु भनेपछि त्यही समयसम्म खोल्नु प¥यो, नियममा बस्दाबस्दै कसैले दुःख दियो भने रिपोर्टिङ गर्नुस् म सहयोग गर्न तयार छु ।’
मन्त्री पण्डितले प्रहरी प्रशासनले मलाई सिध्याउँछ भनेर डर मानेर बस्यो भने समस्याको समाधान नहुने बताउँदै भने, ‘भागेर कुनै पनि समस्याको समाधान हुँदैन । मागेर समृद्धि हुँदैन ।’
उनले राज्यलाई कर तिर्छु भनेर कर संकलन गर्ने तर पछि यो कर मेरो आम्दानी हो भनेर कर लुकाउने प्रवृत्तिलाई दण्डित नगरे कसलाई गर्ने भनी प्रश्न गरे ।
मन्त्री पण्डितले सबै ठाउँमा होइन, निश्चत स्थानमा चौबीसै घन्टा खाना पाइने हिसाबले रेस्टुराँहरू खोल्न लगाउने वातावरण सरकारले मिलाउँदै गरेको जानकारी दिँदै उनले संस्थागत रूपमा के समस्या परेको छ ? के अप्ठ्यारो छ, निर्धक्कसँग व्यवसायीहरूले आफूसमक्ष लिखित जानकारी दिएमा आफू बाटो पुकाउन तयार रहेको प्रतिबद्धतासमेत जनाए । उनले करको करकर धेरै सुनिएपछि स्थानीय निकायले उठाएको असान्दर्भिक कर बन्द गर्न आफूले पहल गरेको जानकारी दिए ।
कर संकलन गरेर देश विकास गर्नुपर्छ भन्ने मामिलामा अलि बढी कठोर देखिएका मन्त्री पण्डितले फास्ट फुड व्यवसायीहरूलाई राजा हरिश्चन्द्र–तारामतीको कथाको प्रसंग पनि सुनाए ।
मन्त्री पण्डितको भनाइ थियो, ‘के तपाईंहरू आजभन्दा २० वर्ष अगाडिको दाममा फास्ट फुड दिन सक्नु हुन्छ ? हुन्न, तपाईंहरूले पनि अहिलेको दाममा दिने हो । त्यस्तै सरकारले पनि २० वर्ष अघिको निर्धारित करको प्रतिशतमा अलिक वृद्धि गरेको हो ।’
उनले सहरी क्षेत्रमा कामको व्यस्तताका कारण घरमा खाना खानेभन्दा पनि फास्ट फुडतिर मान्छेको निर्भरता बढ्दै गएकाले गुणवत्तामा ध्यान दिएमा फास्ट फुड व्यवसायको भविष्य राम्रो हुने बताए ।
कार्यक्रममा फास्ट फुड व्यवसायीहरूले पहिले टोले दादा र गुन्डाले दुःख दिन्थ्यो भने अहिले टोले दादा र गुन्डा बेपत्ता भए तर ठीक त्यसको उल्टो प्रहरी प्रशासन भएको र उनीहरूले राती नौ बज्यो कि साइरन बजाएर पसल बन्द गर कि बन्द गर भनेर दबाब दिने गरेको गुनासो गरेका थिए । यस्तै उनीहरूले घरपतिले खिटिक्क हुना साथ ‘उठेर जा’ भन्ने धम्की दिने र सो धम्कीसँगै आफ्नो लगानी सुरक्षित नभएको गम्भीर विषय उठाएका थिए ।
फास्ट फुड व्यापारीहरूले फास्ट फुडमा के–कत्ति राज्यले कर लगाउने हो सोको प्रस्ट खाका बाहिर लगाउनुपर्ने किनकि एक प्लेट मःममा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लगाएर व्यवसाय सञ्चालन गर्ने स्थिति नभएको बताएका थिए ।
कार्यक्रममा फास्ट फुड एसोसिएसनका अध्यक्ष केशरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजकुमार श्रेष्ठ र संस्थासित आबद्ध हिमाल श्रेष्ठ, बाबुराम कार्की, राकेश श्रेष्ठ, राजनारायण श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, मित्रलाल थोकर, तारण श्रेष्ठ र फणिराज श्रेष्ठले फास्ट फुड व्यवसायीले वर्तमान अवस्थामा भोग्नुपरेका र सामना गरिरहेको आफ्नो अनुभव बताउँदै फास्ट फुड व्यवसाय मजदुर हुँदै मालिक निम्न पुँजी भएकाहरूको व्यवसाय भएकाले यस व्यवसायलाई सरकारले सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा एसोसिएसनले गाईजात्राको अवसरमा आयोजना गरेको कार्यक्रमको टिकट अत्यधिक बिक्री गरी सहयोग पु¥याउने एसोसिएसनसम्बद्ध राकेश श्रेष्ठ, होमराज श्रेष्ठ र राजकुमार श्रेष्ठलाई मन्त्री पण्डितले सम्मानपत्र प्रदान गरेर उनीहरूको योगदानको कदर गरेका थिए ।